काठमाडाैं,७ कात्तिक  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि सत्ता गठबन्धन पत्तासाफ हुने बताउनुभएकाे छ ।

गृह जिल्ला झापाकाे दमकमा बुधबार आयाेजित एमाले निर्वाचन अभियान अभिमुखिकरण कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले भन्नुभयाे - 'मंसिर ४ काे चुनावमा गठबन्धनलाई पत्तासाफ गर्नुपर्छ, एमालेकाे नेतृत्वमा सरकार बनाउनुपर्छ ।'

एमालेले प्रतिनिधि सभातर्फ १ सय ५० सिट जित्ने उहाँले बताउनुभयाे । प्रत्यक्षतर्फ कम्तिमा १०० र समानुपातिकमा ५० सिट जित्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे - 'हामी मिसन १५० मा छाैं, यसपटककाे प्रतिनिधि सभामा एमालेले १ सय ५० सिट कम्तिमा जित्नेछ, कुनै गठबन्धनका छेस्काछेस्कीले एमालेलाई छेक्नेवाला छैन ।' 

मिसन १५० बनाएर चुनावमा हाेमिएकाे एमालेले एकल बहुमत ल्याउने बताउँदै उहाँले भन्नुभयाे - 'एमालेप्रति लहर बढेकाे छ,अब कुनै गठबन्धनको छेस्काछेस्कीले छेक्नेवाला छैन ।' सत्ता गठबन्धनकाे प्रमुख घटक कांग्रेसले ९० सिट पनि नल्याउने समेत अध्यक्ष ओलीले बताउनुभयाे ।

एमाले वचनकाे पक्का पार्टी भएकाे भन्दै अध्यक्ष ‌ओलीले झापामा राप्रपा र अन्य ठाउँमा तालमेल गरेका ठाउँमा जसपाका उम्मेदवारलाई भाेट दिन नेता कार्यकर्तालाई निर्देशन दिनुभयाे ।

एमालेसँग सहकार्य गर्ने दलहरुकाे भविष्य राम्राे रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे । यसपटककाे चुनावमा राप्रपालाई राष्ट्रिय पार्टी बनाउने र राष्ट्रिय पार्टी रहेकाे जसपाकाे अस्तित्व जाेगाउने जिम्मा एमालेले लिने पनि उहाँले बताउनुभयाे ।

अध्यक्ष ओलीले भन्नुभयाे - 'राप्रपाले हामीसँग सहकार्य गर्‍याे राप्रपाले सरकार बनाउने हाेइन, राप्रपा राष्ट्रिय पार्टी बन्छ, जसपा कायम रहन्छ, लोसपा राष्ट्रिय पार्टी बन्दैन, सिमलीको डाँक्लाको छेस्को (एकीकृत समाजवादी) राष्ट्रिय पार्टी बन्दैन, किनकि यसले एमालेसँग टक्कर गर्‍याे, एमालेसँग टक्कर लियाे कि गयाे ।'

कांग्रेस र नेकपा माओवादीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयाे - 'दुई वटा पार्टी राष्ट्रिय पार्टी बन्छ,अर्कोपल्टलाई पनि चाहिन्छऽ उनीहरूलाई देश बिगारेको दण्ड दिनुपर्छ ।'

अहिलेकाे सरकारकाे आयु एक महिनामात्र भएकाे रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे । गठबन्धन सरकारकाे दिनगन्ती सुरु भएकाे उहाँकाे भनाइ छ । सत्ता गठबन्धन भ्रष्टाचारमा चुर्लुम्म डुबेको अध्यक्ष ओलीले बताउनुभयाे । गठबन्धन कुनै लक्ष्य नभएको गन्तव्यहिनहरूको जत्था भएको समेत उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीले भन्नुभयाे - 'याे गठबन्धन चारतिर मुख फर्काएर बसेको चतर्भुज जस्तै छ, जुन कतै चल्न हिँड्न सक्दैन तर मुख भने चारैतिर चलाईरहन्छ, खाइरहन्छ, गठबन्धनको देशमा मिलेर खाने ठग्ने बाहेक अर्को कुनै उद्देश्य छैन ।'

देश बिगारेकाे दण्ड गठबन्धनवालाहरुलाई दिनुपर्ने र देश बनाउन एमालेलाई विजयी गराउनुपर्ने बताउँदै उहाँले भन्नुभयाे - 'देश र जनताले एमाले आहाेस् देश विकास गराेस् भन्ने साेचिरहेकाे छ ।' अध्यक्ष ओलीले गठबन्धनका जालझेल, मतपत्र च्यात्ने, ठग्ने, छल छाम गर्ने जस्ता अवान्छित क्रियाकलाप रोकेर जनमतको रक्षा गर्न एमालेका नेता-कार्यकर्ता सचेत र सतर्क हुनुपर्ने बताउनुभयो ।

आफू नेतृत्वको सरकारका पालामा तीन वर्षमादेशको विकासले काँचुली फेरेको स्मरण गर्दै अध्यक्ष ओलीले विकास र समृद्धि चाहने सम्पूर्ण नेपालीले मंसिर ४ मा एमालेलाई बहुमतसहितको सरकार निर्माण गर्ने गरी विजयी बनाउनुपर्ने बताउनुभयाे ।