काठमाडौ,९ कात्तिक । नेपाली कांग्रेसका नेता एवं ओखलढुङ्गामा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रामहरि खतिवडाले नेपाली कांग्रेस र माओवादी एक भइसकेको बताउनुभएको छ । 

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका– १० बेतिनीमा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै खतिवडाले कांग्रेस र माओवादीमा कुनै भिन्नता नभएको बताउनुभयो । ‘कांग्रेस भनेको माओवादी हो, माओवादी भनेको कांग्रेस हो, म सँगसँगै उहाँलाई पनि एक भोट पनि कम नहाली जिताइदिनुहुन अनुरोध गर्दछु’, खतिवडाले भन्नुभयो । 

कार्यक्रममा बोल्दै खतिवडाले ओखलढुङ्गाका जनताले मागेको काम आफूले गरेको बताउनुभयो । अरूले यति पैसा दिन्छु भनेर आश्वासन दिने गरेका तर आफूले काम नै गरेर देखाउने गरेको खतिवडाले बताउनुभयो । आफूले ओखलढुङ्गामा हार्दा त्यहाँको विकासले हारेको खतिवडाले सुनाउनुभयो । ओखलढुङ्गामा आफूले हार्दा त्यसको मार त्यहाँका जनताले भोग्नु परेको उहाँले बताउनुभयो । 

आफू निर्वाचित भए पछि ओखलढुङ्गाका सडक र पुल निर्माणको काम गर्ने उहाँले बताउनुभयो । गठबन्धनका सबै नेतालाई तानेर आफूले विकासको काम अघि बढाउने उहाँले सुनाउनुभयो । 

गठबन्धनले कुरा होइन काम गर्ने खतिवडाको भनाइ छ । आफैँले हालेको भोटले भविष्यमा असर नगरोस् भन्ने कुरामा सचेत हुन उहाँले मतदातालाई आग्रह गर्नुभयो । 

कन्यादान र मतदान गर्दा ध्यान पुर्‍याउनु पर्ने खतिवडाले बताउनुभयो । ‘ कन्यादान गर्दा जड्यहाको हातमा छोरी परी भने सजिलै फिर्ता गर्न मिल्दैन, मतदान पनि गलत मानिसलाई गर्नुभयो भने फेरी पाँच वर्ष फिर्ता गर्न पाइँदैन’, खतिवडाले भन्नुभयो । 

आफू जता गयो त्यतै मानिसको भिड देखिएको बताउँदै खतिवडाले मङ्सिर ४ को निर्वाचन आफूले जित्ने विश्वास व्यक्त गर्नुभयो । खतिवडाले गठबन्धनका दल एकताबद्ध भएर अघि बढेको बताउनुभयो । आउने पाँच वर्षसम्म अहिलेको गठबन्धन निरन्तर रहने खतिवडाको भनाइ छ ।