काठमाडौं,१५ कात्तिक । रामेछापको मन्थली नगरपालिका–३ ठाँटीमा सोमबार बिहान नेकपा एमालेले चुनावी कोण सभा राखेको थियो । एमाले प्रदेश सभा सदस्यका उम्मेदवार शान्तिप्रसाद पौडेले, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ लगायतका नेताहरू कार्यक्रममा पार्टीको धारणा राख्दै हुनुहुन्थ्यो । ८६ वर्षकी तुलसा रोकाले नेताहरूको धारणा निक्कै ध्यानपूर्वक सुन्नुभयो । कार्यक्रममा सहभागी मध्ये सायद सबैभन्दा ज्येष्ठ हुनुहुन्थ्यो तुलसा ।
नेताहरूले एमालेले विकासको लागि गरेको कामको बेलिबिस्तार लगाउनभयो । उहाँहरूले आफ्नो आगामी योजना पनि सुनाउनुभयो ।सबै कुरा सुनिरहँदा तुलसाको मनमा एउटा कुरा भने खेलिरहेको थियो– ‘गाउँमा विकास भएको छ, बिजुली बल्यो, सडक बन्यो, घर घरमा पानी आयो, गाउँमै स्कुल बनेको छ, स्वास्थ्य चौकी छ, तै पनि युवा युवती किन गाउँ बस्दैनन् ?’
कार्यक्रम सुनिसकेपछि तुलसाले भन्नुभयो– ‘उहाँहरूले भनेको सबै कुरा चित्त बुझ्यो, तर मान्छे गाउँमा चाहिँ किन बस्दैनन् बाबु ?’, उहाँले भन्नुभयो । तुलसाको जिज्ञासा उहाँको भोगाई हो । उहाँको आफ्नै कथा हो, आफ्नै व्यथा हो ।
८६ वर्षीय तुलसा अहिले घरमा एक्लै हुनुहुन्छ । गाउँमा विकास आयो तर उहाँका नाति नातिनीलाई गाउँको विकासले रोक्न सकेन । उहाँहरूलाई गाउँमा आएको विकासले गाउँमा नै राख्न सकेन । जसको पीडा ८६ वर्षीय वृद्धाले बोकेर बाँच्नु भएको छ ।
तुलसाले तीन छोरी र एक छोरा जन्माउनुभयो । छोरीहरू विवाह गरेर सबै आआफ्नो घर गए । श्रीमान् बितेको १४ वर्ष भयो । छोरा पनि बिते । बुहारी छुट्टिएर बस्नुभयो ।तुलसा जेठो नातिसँग बस्नुभयो । तर नातिको मन गाउँमा अडेन । नाति, नातिनी बुहारी सबै सहर पसे । तुलसा एक्लै पार्नुभयो ।
तुलसा अहिले एक्लै घर रुँगेर बस्नु भएको छ । बाहिर फेर निस्कन हात गोडा लाग्दैनन् । जग्गा जमिन बँझियो । ‘जग्गा भएर के गर्नु, खेती लगाउन नसकेपछि सबै बँझियो, बुढाको नाममा १७ रोपनी जग्गा छ, मेरो आफ्नै नाममा पनि चार रोपनी छ, तर खेती लगाउन सकिँदैन, एक गेडा अन्न पनि भित्रिँदैन’, तुलसाले भन्नुभयो ।
‘म एक्ली बुढी, हात गोटा चल्न छाडे, पकाएर खान पनि नसक्ने अवस्थामा छु, यति पकाउन सकेँ भने खान्छु, नत्र भोकै सुत्छु बाबु’, तुलसाले सुनाउनुभयो ।छोराछोरी पढाउन भन्दै नातिनी बुहारी पनि नातिसँग सहर पसेको तुलसाले बताउनुभयो । ‘खोइ छोरा छोरी पढाउने भनेर गाउँका सबै युवा युवती सहर पसेका छन्, यहाँ पनि स्कुल त छ, यहाँ किन नपढाएका हुन्, केही बुझ्न सकेको छैन, यही कुरा मलाई चित्त बुझ्दैन’, तुलसाले भन्नुभयो ।
तुलसाको अहिले जीवन वृत्तिको एउटै आधार एमालेले सुरु गरेको ज्येष्ठ नागरिक भत्ता भएको छ । ‘आफ्नो जमिनबाट दाना पनि आउँदैन, अलिअलि कमाई गरेका पनि दिँदैनन् बाबु, मेरो बाँच्ने आधार त्यही भत्ता हो, जेनतेन त्यसैबाट बाँचेकी छु, त्यो भत्ता पनि नदिएको भए हामी के खाएर बाँच्थ्यौँ हालो’,उहाँले जिज्ञासा राख्नुभयो ।
सरकारले उपलब्ध गराएको भत्ता ५ हजार पुर्याउने कुरा सुनेको भए पनि त्यो भने नपाएको उहाँले सुनाउनुभयो । ‘एक हजार थपिदिएको भए केही सजिलो हुन्थ्यो, खै किन हो थपेका छैनन्’, उहाँले भन्नुभयो ।अहिलेको भत्ताले दुःख जिलो एक जनाको पेट पाल्न पुग्ने भए पनि त्यो पर्याप्त नभएको उहाँले बताउनुभयो । ‘कहिलेकाहीँ यसो तातो लुगा हाल्नु पर्छ, चाडबाडमा चेलीबेटी आउँछन्, खालि हात के पठाउनु, त्यस्तो पर्दा धान्दैन’, तुलसाले भन्नुभयो ।
नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ एमालेले गाउँमा विकासको आधार तयार गरेको भए पनि त्यसले पूर्णता पाउन नसक्दा अझै युवाहरू गाउँ फर्कन नसकेका बताउनुहुन्छ । यसको लागि गाउँमा नै स्वरोजगारीको ग्यारेण्टी हुनु पर्ने उहाँले बताउनुभयो । यो काम गर्नका लागि एमाले नेतृत्वको सरकार जरुरी रहेको श्रेष्ठले प्रष्ट पार्नुभयो ।



















