चितवन—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन भरतपुरस्थित गेस्टहाउस चौरमा हुने कार्यक्रम रहेको छ।

महाधिवेशनस्थललाई पार्टीका सभापति रवि लामिछाने र र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने छन् । महाधिवेशनको उद्घाटन समारोह स्थललाई रवि र बालेनको तस्बिरसहित सजाइएको छ ।

रास्वपा प्रवक्ता मनिष झाले महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने बताइएको छ। साथै, महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

रास्वपाको प्रथम महाधिवेशनमा देशभरबाट ३ हजार ९१८ प्रतिनिधि सहभागी हुनेछन्।