झापा—झापाको मेचीनगर नगरपालिका–४, बाहुनडाँगीमा सञ्चालित ‘मानव सेवा आश्रम’ सडकमा अलपत्र परेका र आफन्तबाट छुटेका ४० भन्दा बढी असहाय व्यक्तिका लागि सुरक्षित आश्रयस्थल बनेको छ । डेढ वर्षअघि उद्घाटन गरिएको यो आश्रम अहिले १९ देखि ९९ वर्ष उमेर समूहका असहाय तथा बेवारिसे व्यक्तिहरूको अभिभावक बनेको छ ।
यस आश्रमको स्थापनासँगै एउटा उदाहरणीय त्यागको कथा पनि जोडिएको छ। स्थानीय रामबहादुर प्रधान र उनकी दुई पत्नीहरू—लक्ष्मी प्रधान र पूर्णमाया प्रधानले आफ्नो नाममा रहेको १० करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने दुई बिघा पाँच कट्ठा जग्गा र घर नै आश्रमको नाममा दान गरेका छन् । सन्तान नभएपछि बुढेसकालको चिन्ता र सम्पत्तिको संरक्षणका लागि भौंतारिरहेका बेला स्थानीय व्यवसायी मोहन कटुवालको मध्यस्थतामा उनीहरू मानव सेवा आश्रमको सम्पर्कमा पुगेका थिए ।
आश्रमै बसेर जीवन बिताउँदै दाता दम्पती
आफ्नो सम्पूर्ण सम्पत्ति दान गरेका प्रधान दम्पती अहिले आफैँ पनि सोही आश्रममा बसोबास गर्दै आएका छन् । आश्रमले ८२ वर्षीय रामबहादुर, ७८ वर्षीया लक्ष्मी र ६१ वर्षीया पूर्णमायाको आजीवन हेरचाह, औषधोपचार र संरक्षणको जिम्मा लिएको छ ।
दाता दम्पतीको त्यागको प्रशंसा गर्दै साविक बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष नीलकण्ठ तिवारीले आफू बसेको घर र जग्गा नै दान गरेर आफैँ आश्रममै बस्ने यस्ता दाता विरलै भेटिने बताए ।
‘हामी खुसी छौँ’ वि.सं. २०३२ मा दोलखाबाट झापा बसाइँ सरेका रामबहादुर प्रधान आफ्नो निर्णयप्रति सन्तुष्ट छन् । “सन्तान नभएर के भयो र ? घरबारविहीन र अलपत्र परेका थुप्रै सन्तानबीच हामी आज खुसीसाथ बाँचिरहेका छौँ,” उनी भन्छन्, “आफ्नो सबै सम्पत्ति आश्रमलाई दिनुपर्दा हामीलाई कुनै पश्चाताप छैन ।”




















