काठमाडौं—नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएको छ । रुपन्देहीका व्यवसायीहरू कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माले दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको तथ्य म्याद थपका लागि विशेष अदालतमा सरकारी पक्षबाट पेश गरिएको दाबीबाट खुलेको हो।
शेयर खरिदबिक्रीमा सहजीकरणको आरोप उपन्यायाधीवक्ता भीमसेन काफ्लेले विशेष अदालतको इजलासमा दिएको जानकारीअनुसार, श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिले किनेको विषयको अनुसन्धानका क्रममा पौडेल पक्राउ परेका हुन्। हिमालयनमा इन्फिनिटी होल्डिङ्सको शत प्रतिशत शेयर लगानी रहेको छ । श्रीराम टोबाकोको शेयर सस्तो मूल्यमा दिपक भट्टलाई बिक्री गर्न विष्णु पौडेलले सहजीकरण गरेको बयान ती व्यवसायीहरूले दिएको बताइएको छ । यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्टविरुद्ध मुद्दा दायर गर्दा पनि हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिको बारेमा उल्लेख गरेको थियो ।
राजनीतिक प्रतिशोध भएको वकिलहरूको दाबी पौडेल पक्षका कानून व्यवसायीहरूले यसरी गरिएको पक्राउको कडा प्रतिवाद गरेका छन् । वरिष्ठ अधिवक्ताहरू केदार कोइराला, रमेश बडाल, शान्तिराम खतिवडालगायतले इजलासमा बहस गर्दै बयान दिने व्यक्तिहरूलाई नै पक्राउ नगरी उनीहरूले नाम लिएकै आधारमा पौडेललाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गर्नुले सरकारको स्पष्ट राजनीतिक प्रतिशोध देखिएको जिकिर गरेका छन् । शेयर बिक्रीमा पौडेलले सहजीकरण गरेको कुनै पनि आधार र प्रमाण सरकारले खुलाउन नसकेको भन्दै वकिलहरूले उनलाई फसाउने राजनीतिक नियत मात्र देखिएको दाबी गरेका छन् ।
प्रधानमन्त्रीमाथि पनि अनुसन्धानको माग यस प्रकरणमा राजनीतिक पृष्ठभूमि पनि जोडिएको देखिएको छ। बयान दिनेमध्येका चुन्नु शर्मा गत निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ मा कांग्रेसका तर्फबाट विष्णु पौडेलकै प्रतिस्पर्धी उम्मेदवार थिए । त्यसैगरी, अर्का व्यवसायी मालपानीको ८ करोड पर्ने गाडी प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो चुनावी प्रचारका सिलसिलामा प्रयोग गरेका थिए [१]। पौडेलका वकिलहरूले अदालतमा मालपानीको उक्त गाडी चढ्ने व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
खैनी, गुट्खा तथा 'करेन्ट' चाउचाउका मालिक समेत रहेका व्यावसायिक साझेदार मालपानी र शर्मालाई सरकारी साक्षी बनाएर विष्णु पौडेलमाथि मुद्दा चलाउन सरकारले प्रयास गरेको पाइएको छ ।




















