विराटनगर—मोरङ जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका ७० वर्षीय एक वृद्ध कैदीको उपचारका क्रममा मृत्यु भएको छ।
सुन्दरहरैँचा नगरपालिका–६ निवासी रामप्रसाद दाहालको आइतबार बिहान करिब २ बजे विराटनगरस्थित कोशी अस्पतालमा निधन भएको कारागार प्रशासनले जनाएको छ।
जिल्ला कारागार मोरङका प्रशासक राजन घिमिरेका अनुसार दाहाललाई शनिबार बिहान अचानक चक्कर लाग्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मृत्यु भएको हो।
कारागार प्रशासनले बिरामी परेलगत्तै परिवार तथा आफन्तलाई जानकारी गराएको र आफन्तको उपस्थितिमै उपचार गरिएको जनाएको छ।
दाहाल जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी थिए। उनी २०७५ पुस ६ गते पुर्पक्षका लागि मोरङ कारागार चलान भएका थिए। पछि जिल्ला अदालत मोरङले उनलाई १६ वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसलाअनुसार उनी २०९१ पुस ६ गतेसम्म कारागारमा बस्नुपर्ने थियो।
तर सजाय अवधि पूरा हुन अझै वर्षौं बाँकी रहँदै उनको मृत्यु भएको हो। उनले करिब साढे सात वर्ष जेल जीवन बिताइसकेका थिए। हाल उनको शव कोशी अस्पतालमा राखिएको छ भने कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको कारागार प्रशासनले जनाएको छ।




















