जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसमा शक्तिको मात र अहंकार झल्किएको टिप्पणी गरेकी छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले रास्वपाको महाधिवेशनमा अतिथिका रूपमा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूप्रति सुनारले व्यक्त गरेको टिप्पणी लोकतान्त्रिक मूल्य, सभ्य राजनीतिक संस्कार र सार्वजनिक मर्यादाअनुकूल नरहेको बताएकी छन्।
उनले विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण फरक हुन सक्ने भए पनि अतिथिको सम्मान गर्नु सभ्यता, संस्कार र लोकतान्त्रिक अभ्यासको आधारभूत पक्ष भएको उल्लेख गरेकी छन्। असहमति राख्ने अधिकार सबैलाई भए पनि कसैलाई अपमान गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ।
रक्षा बमका अनुसार फरक विचार राख्ने व्यक्तिप्रति असहिष्णुता बढाउने खालका अभिव्यक्तिले नयाँ पुस्तामा गलत सन्देश प्रवाह गर्छ। यस्ता अभिव्यक्तिले स्वस्थ राजनीतिक बहस, सहिष्णुता र संवादको संस्कृतिलाई कमजोर बनाउँदै विभाजन र कटुतालाई प्रोत्साहन गर्ने उनको तर्क छ।
उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै फरक विचारको सम्मान र संवादको अभ्यास भएको उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आफ्नो अभिव्यक्तिमा अझ जिम्मेवार र संयमित हुनुपर्ने बताएकी छन्।
साथै, बमले यस्ता प्रवृत्तिलाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै लोकतान्त्रिक संस्कार, राजनीतिक मर्यादा र सभ्य बहसको वातावरण जोगाउन रास्वपाका नेता–कार्यकर्ता तथा समर्थकहरूलाई सचेत रहन आग्रह गरेकी छन्।




















