चितवन—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहान ८ः३० बजेदेखि सुरु हुने भएको छ। उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रका लागि आवश्यक तयारी पूरा गरिएको पार्टीले जनाएको छ।
प्रदर्शनी केन्द्रका तीन ठूला हलमध्ये दुई हल बन्दसत्रका लागि र एक हल प्रतिनिधिहरूको खाना तथा खाजाको व्यवस्थापनका लागि प्रयोग गरिएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।
यस्तै बिहान १० बजे महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सहमहामन्त्रीले पार्टी विधानमाथि छलफल गराउनेछन्। बिहान ११ः४५ बजे पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
दिउँसो १२ः४५ बजे सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने तथा आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूची रहेको छ।
खानापछि दिउँसो १ बजे निर्वाचन आयोगले निर्वाचन प्रक्रिया र तालिका सार्वजनिक गर्नेछ। महाधिवेशनमा चार हजार २११ प्रतिनिधि, पर्यवेक्षक तथा स्वयंसेवक सहभागी हुने रास्वपाले जनाएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो १ बजेदेखि उम्मेदवारी फारम वितरण सुरु हुनेछ। दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता, साँझ ६ बजे प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन तथा त्यसपछि दाबी–विरोध र छानबिन प्रक्रिया सञ्चालन गरिनेछ।
उम्मेदवारी फिर्ता लिने अन्तिम समय राति ९ः१५ बजेसम्म तोकिएको छ भने अन्तिम उम्मेदवारको नामावली राति ११ बजे सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।
महाधिवेशनअन्तर्गत असार ९ गते मंगलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ। पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान गरिनेछ। मतगणना सम्पन्न भएपछि परिणाम घोषणा गरी दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।
रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्र शनिबार चितवनको गेष्टहाउस चौरमा सम्पन्न भएको थियो।




















