काठमाडौं,२१ कात्तिक  । लोकतान्त्रिक शेर्पा संघका केन्द्रीय अध्यक्ष नाम्गेल शेर्पाले नेकपा एमालेले गरेको विकासको काम जनताको बिचमा घाम जस्तै छर्लङ्ग भएको बताउनुभएको छ । 

नेकपा एमाले रामेछाप निर्वाचन परिचालन कमिटीले सोमबार उमाकुण्ड गाउँपालिकाको बाम्ती भण्डारमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै शेर्पाले देश विकासको लागि एमालेका उम्मेदवारलाई विजयी गराउन चुक्नु नहुने बताउनुभयो । मंसिर ४ को निर्वाचनमा नेकपा एमालेका सूर्य ध्वजाबहाक उम्मेदवारलाई विजयी गराउन आह्वान गर्दछौँ, यो पटक एमालेको साथमा साथ र हातमा हात मिलाएर अघि बढौँ’, एमालेबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक तर्फका उम्मेदवार शेर्पाले भन्नुभयो । 

मुलुक अहिले अपवित्र गठबन्धनको चङ्गुलमा फसेको उहाँले टिप्पणी गर्नुभयो । कांग्रेस र माओवादीका इमानदार नेता कार्यकर्ता अहिले गम्भीर संकटमा परेको उहाँले बताउनुभयो । त्यसैले त्यस्ता इमानदार कार्यकर्ताले देश जोगाउन एमालेमा मत हाल्नु पर्ने उहाँले बताउनुभयो । 

जनयुद्धको नाममा १ सय ३२ जना शेर्पाले ज्यान गुमाएको बताउँदै त्यो बलिदान निरर्थक भएको शेर्पाले बताउनुभयो । ‘जनयुद्धको नाममा १ सय ३२ जनाको बलिदान दिने शेर्पा समुदायले के पायो  ?’ उहाँले प्रचण्डसँग प्रश्न गर्नुभयो । 

माओवादी मार्ने कांग्रेस र कांग्रेस मार्ने माओवादीको गठबन्धन अपवित्र रहेको उहाँले बताउनुभयो । ‘ती पार्टीका इमानदार कार्यकर्ता जाने ठाउँ कहाँ हो ? अब जाने ठाउँ नेकपा एमाले हो, आउनुस्, सँगै मिलेर काम गरौँ’, उहाँले भन्नुभयो ।