पथरी,३० कात्तिक । मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार जयराज संयोक लिम्बु जिताऔं अभियानको समीक्षा बैठक सम्पन्न भएको छ ।
आज बेलबारी–३ सम्झना चौकमा भएको समीक्षा बैठकमा अभियानको भावी योजनाको तिव्र रुपमा भइरहेको र उत्साहजनक कार्य भइरहेको निष्कर्ष निकालिएको छ । माछा चुनाव चिन्हले चुनाव जित्नेमा निश्चित रहेको बताइएको छ ।
समीक्षा बैठकमा मतदाताहरूमा राजनीतिक दलप्रति वितृष्णा जनाउँदै यस पटक स्वतन्त्र उम्मेदवारलाई जिताउने अभियानमा गोप्य मतदानबाट विजयी गराउने निष्कर्ष निकालिएको अभियानका प्रचार संयोजक काबुलबहादुर मगर (विकास)ले बताउनुभयो ।
यस अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश उप्रेती (घन्टी) र प्रदेश (ख)का उम्मेदवार विवेक खनालले समेत प्रतिनिधिसभाको चुनावमा संयोकलाई समर्थन गर्ने जनाएका छन् । यस्तै पुतली चिन्ह लिएका स्वतन्त्र उम्मेदवार हिम मिश्रले समेत माछा चुनाव चिन्हलाई समर्थन गर्ने जनाएका छन् ।
समीक्षा बैठकमा माछा चिन्हका अभियानकर्ताहरूले आफूहरुको जित सुनिश्चित भइसकेको दाबी गरेका छन् ।
समीक्षा बैठकमा माछा चुनाव चिन्हले नेपाली कांग्रेस लगायत कुनै पनि राजनीतिक पार्टीलाई समर्थन नगर्ने प्रतिबद्धता जनाएका छन् । मगरले भने– यदि कसैले आफूहरुलाई सघाउने भन्ने समाचार आए त्यो भ्रामक समाचार हुनेछ ।




















