पथरी ,११ चैत । नेकपा एमाले पथरी शनिश्चरे नगरपालिका ३ नं. वडा कमिटीले वडास्थित उल्लेख्य अगुवा कार्यकर्ताहरूको उपस्थितिमा पार्टीको राजनीतिक–बैचारिक अभिमुखीकरण कार्यक्रम सहित मिसन ग्रासरुट अभियान आरम्भ गरेको छ ।
फागुनदेखि नै देशव्यापी रूपमा जारी अभियानअन्तर्गत वडामा यो अभियान औपचारिक रूपमा आरम्भ भएको हो । वडाको उखुबारीस्थित नर्वदेश्वर शिवालय मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा आमन्त्रित नेता एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य गुरुप्रसाद बरालले सम्बोधन गर्नुभएको थियो ।
विद्यमान राष्ट्रिय राजनीतिले सिर्जना गरेको संवैधानिक संकट, पार्टीले सञ्चालनमा ल्याएको मिसन ग्रासरुटको उद्देश्य र पार्टीको राजनीतिक–बैचारिक गन्तव्यबारे नेता बरालले पार्टी स्कुलको रूपमा आयोजित कार्यक्रममार्फत आमरूपमा उपस्थित पार्टीको स्थानीय नेतृत्वलाई पढाउनुभएको थियो ।
सम्बोधनक्रममा नेता बरालले आधारभूत तहका देखापर्ने नागरिकका समस्या समाधानका लागि लाग्न नेकपा (एमाले) को कार्यकर्ता पंक्ति एक हातमा अनुशासनको डण्डा र अर्को हातमा पार्टी झण्डा लिएर दृढतापूर्वक खडा हुनुपर्ने दर्शाउनुभयो । स्थायी कमिटी सदस्य बरालले परस्पर उत्पन्न हुने सस्याना समस्यालाई पनि पार्टी कार्यकर्ताले सामुहिक पहल र प्रयत्नमा समाधानको बाटोमा लगाउनुपर्ने राय सुझाउनुहुँदै बरालले नेकपा (एमाले) को विकल्प एमालेमात्र रहेको दावी पेश गर्नुभयो । उहाँले एमालेलाई सक्न एमालेलाई नै चलाउनुपर्छ भन्ने बुझेकाहरू यतिबेला कुनै न कुनै छिद्रो खोज्दै एमाले पंक्तिलाई कमजोर पार्न विभिन्न विषय, बहाना र निहुँमा लागेको दर्शाउनुहुँदै यस्ता तत्वबाट सजग रहन, सचेत हुन र खबरदारी गर्न उर्दी गर्नुभयो ।
झण्डै दुई घण्टा लामो स्कुललाई पढाउनेक्रममा नेकपा (एमाले) ले ल्याएका समाजवादउन्मुख कार्यक्रम कार्यान्वयनले मात्र देशमा समृद्धिको आधार तयार गर्ने बताउनुहुँदै उहाँले अदालतको सक्रियता बढाएयता एमालेबिरुद्ध अनेक चक्रब्युह रचिए पनि जनताले एमालेको कार्यक्रमलाई नियालिरहेको बताउनुभयो । जनताका समस्यालाई मिहिन ढंगले केलाएर समाधान गर्ने पार्टी एमाले मात्र भएकोले जनताको रोजाइँको पहिलो पार्टीको रूपमा एमाले जनताको आकर्षण पार्टी रहेको तर्क पेश गर्नुभयो ।
कार्यक्रमलाई पथरी शनिश्चरे नगरपालिकाको प्रमुख अभियन्ताको रूपमा उपस्थित एमाले केन्द्रीय सदस्य तथा मेचीनगर नगरपालिका उपप्रमुख मिना उप्रेती, एमाले कोशी प्रदेश कमिटी सदस्य खेम नेपाली, एमाले मोरङ जिल्ला कमिटी सदस्य वीरध्वज शिवाले पार्टीको अन्तरसंगठनात्मक कामको व्यवस्थापनमा पार्टीको जारी ग्रासरुट अभियानबारे कार्यकर्तालाई अभिमुख गराउनुभएको थियो ।
नेकपा (एमाले) ले देशव्यापी रूपमा सुरु गरेको ग्रासरुट अभियानअन्तर्गत वडा कमिटीले यो प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । वडा कमिटी अध्यक्ष गणेश बाछनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई वडा सचिव अर्जुन काफ्लेले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमको अघिल्लो दिन साँझ नेता खेम नेपालीले वडास्थित पार्टी निर्माणकालका कैयौं संगठक एवम् दर्जनौँ अग्रजहरूसँग भेटघाट गर्नुभएको थियो । जनवादी गीतगायन र प्रगतिशील साहित्यिक–सांस्कृतिक सामाजिक जागरणमार्फत संगठन निर्माणले तिब्रता लिएको बेला खटिनुभएका नेता नेपाली यहाँको कम्युनिष्ट आन्दोलन निर्माणकालको नेताको रूपमा चिनिनुहुन्छ ।




















