- नबराज पथिक
गैरसरकारी संस्थामा काम गर्ने उपेन्द्र यादवलाई सोही संस्थाले सञ्चालन गरेको सामाजिक आन्दोलनले मधेसमा नेता बनायो ।
मधेसी जनअधिकार फोरम नामको गैरसरकारी संस्था मधेसमा राजनीतिक दल नै बन्यो । त्यही संस्था मार्फत मधेसमा उपेन्द्र यादव लगायतका नेताहरू उदाउनुभयो । मधेसी जनअधिकार फोरम कुनै बेला मधेसको आवाज उछाल्ने राजनीतिक दल बन्यो ।
मधेसका मुद्दा उठाउँदा मधेसमा सजिलै नेता बन्ने लोभ नेपाली कांग्रेस र एमालेका नेताहरूलाई पनि जाग्यो । त्यसैले कतिपय मधेसमा राजनीति गरिरहनुभएका कांग्रेस र एमालेका नेताहरू पनि सो दलमा लाग्नुभयो । मधेसमा राजनीति गर्ने अन्य नेताहरूले मधेस केन्द्रित दल खोल्नुभयो । मधेस केन्द्रित दल एकीकृत भएर एक ठाउँमा आए । बाबुराम भट्टराईले खोल्नु भएको नयाँ दल पनि त्यसैमा मिसिन पुग्यो । एमाले भित्र जातीय राजनीतिक नारा लगाउने नेताहरू पनि त्यतै मिल्न पुग्नुभयो । तर त्यो एकता धेरै समय टिक्न सकेन ।
बाबुराम भट्टराई आफ्नो समूह लिएर अलग्गिनुभयो । महन्थ ठाकुर, राजेन्द्र महतो लगायत पनि अलग्गिनुभयो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) केही तराईका र पहाडी मूलका अशोक राई लगायतका केही नेता लिएर बस्यो ।
पार्टीको नेता बनेर उपेन्द्र यादवले राज्य सत्ता र शक्तिको राम्रै उपयोग गर्नुभयो । मुद्दा मधेसी र पछाडि पारिएका समुदायको उठाए पनि यादवको ध्यान सधैँ आफू शक्तिमा पुग्नेमा नै केन्द्रित रह्यो । उहाँले नेपालको अहिलेको संविधानलाई कहिल्यै मान्नुभएन तर त्यही संविधानले स्थापना गरेको सांसद्, मन्त्री र उपप्रधानमन्त्रीसम्म बन्नुभयो । कांग्रेस र एमालेलाई सधैँ सत्तोसराप गरिरहनुभयो तर सधैँ उनीहरूकै आड लागेर सत्ता र शक्तिमा पुगिरहनुभयो ।
दल सानो तर कुरा सधैँ ठुला गरिरहनुभयो । जसको आडमा सत्तामा पुग्यो त्यसैको उछित्तो काढी रहनुभयो । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा मन्त्री बन्नुभयो । तर एमाले र केपी ओलीको विरोध गर्न कहिल्यै छाड्नुभएन । जुन व्यवस्थाको मन्त्री हुनुहुन्थ्यो त्यो व्यवस्थाको विरोध गर्न कहिल्यै पछि हट्नुभएन ।
उहाँको गतिविधिले आजित भएर केपी ओलीले उहाँलाई एउटा मन्त्रालयबाट अर्को मन्त्रालय पठाउनुभयो । तै पनि सत्ता छाड्नुभएन । अझ लाजै नपचाई भन्नुभयो, ‘सबै मन्त्रालयको अनुभव गरोस् भनेर मेरो मन्त्रालय फेरिएको हो ।’
एमालेलाई सरकारबाट ढाल्न र परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन यादव गठबन्धनमा जोडिन पुग्नुभयो । गठबन्धनका पाँच दल मध्ये यादवको दल एउटा बन्यो ।
जब चुनावको बेला आयो, यादवलाई गठबन्धनले कुनै भाउ दिएन । उहाँलाई सँगै लैजान गठबन्धन तयार भएन । यादव गठबन्धनबाट एक्लिनुभयो । गठबन्धनले उहाँलाई एक्लायो ।
त्यस पछि चुनाव हार्ने डरले रन्थनिनुभएका यादव एमाले अध्यक्ष केपी शर्मा ओलीको ढोकामा पुग्नुभयो । गठबन्धन पनि टुट्ने, मिलेर जाँदा केही ठाउँमा सजिलो पनि हुने भएपछि एमाले यादवको पार्टी जसपासँग तालमेल गरेर चुनावमा जान तयार भयो । तालमेल गरेका ठाउँमा एकले अर्कालाई सघाउने, नभएका ठाउँमा स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति भयो ।
त्यही सहमति अनुसार जसपालाई एमालेले प्रतिनिधि सभा तर्फ १४ जिल्लाका १७ सिटमा समर्थन गर्यो । प्रदेश सभामा ४२ सिटमा जसपालाई एमालेले समर्थन गर्यो । त्यस्तै जसपाले एमालेलाई प्रतिनिधि सभाका ३५ र प्रदेश सभाका ७० सिटमा समर्थन गर्ने सहमति बन्यो । बाँकी स्थानमा आआफ्नो हिसाबले उम्मेदवार उठाउन खुल्ला गरियो ।
सहमति अनुसार चुनाव भयो । दुवै दल चुनावमा गए । एमालेकै समर्थनमा प्रतिनिधि सभा तर्फ जसपाले सात स्थानमा विजय प्राप्त गर्यो । तर उपेन्द्र यादवले चुनाव जित्न सक्नु भएन । उहाँ सीके राउतसँग फराकिलो मतले पराजित हुनुभयो ।
यादव अन्य कारणले भन्दा पनि आफ्नै घमण्ड, दम्भ र स्वार्थी चरित्रका कारण पराजित हुनुभएको थियो । वास्तवमा भन्ने हो भने उहाँलाई मधेसले दण्ड दिएको थियो । मधेसका मुद्दा बोक्ने तर सधैँ आफ्नो स्वार्थमा रमाउने उहाँको चरित्रको दण्ड दिएको थियो । मधेस र सीमान्तकृत समुदायको मुद्दा उठाउन सीके राउतलाई अवसर दिएको थियो ।
चुनावमा आफ्नो पराजयपछि उहाँ आफ्नो समीक्षा गर्ने भन्दा पनि एमालेसँग खनिनु भएको छ । एमालेसँगको तालमेल अब टुटिसकेको भन्दै उहाँले अभिव्यक्ति दिनुभएको छ । चुनावको लागि एमालेसँग तालमेल भएको र आफूले चुनाव हारेपछि त्यो टुटेको उहाँको अभिव्यक्ति छ ।
उहाँको अभिव्यक्ति आउने बित्तिकै सो पार्टीका अर्का नेता अशोक राईले भने त्यसको प्रतिवाद गर्नुभएको छ । एमालेबाट फुटेर गएपछि संसदीय राजनीतिमा आउन नसक्नुभएका राईलाई यस पटक एमालेले समर्थन गरेर प्रतिनिधि सभा सदस्य बनाएको छ । राईलाई आफ्नो पुरानो पार्टीले यस पटक राम्रो गुन लगाइदिएको छ । त्यसैले अहिले यादव चुनाव हारेको झोकमा रन्थनिनु भएको छ, राई चुनावमा एमालेले लगाएको गुन बिर्सन चाहनुहुन्न । परिणामस्वरूप दुई नेता बिचको दुरी बढेको छ ।
सो पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहनुभएका राईले यादवको धारणालाई व्यक्तिगत धारणा मात्र भएको बताइदिनुभएको छ । निर्वाचन अघि दुई पार्टी बिच भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहने भनि लेखिएकोले पार्टीको बैठकले त्यसलाई खारेज नगरेसम्म एमालेसँगको तालमेल नटुट्ने खरो जवाफ राईले दिनुभएको छ ।
उपेन्द्रको स्वभाव आफूले जे बोल्यो त्यही सत्य हुने र हुनुपर्ने खालको छ । आफूले भनेको नभए समाप्त नै पारिदिने उहाँको चरित्र छ । आफ्नो आलोचना गर्नेलाई पार्टीबाटै निकालिदिने र पार्टी नै फुटाइदिने स्वभाव उहाँको छ । उहाँको यो स्वभावले यो खटपटलाई कहाँ पुर्याउला, त्यो समयले बताउने छ ।




















