काठमाडौं,२१ मंसिर  । एक वर्षअघि एमालेबाट अगल भई बनेको विद्रोही शक्ति नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय दल बन्न असफल भएको छ । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन सम्बन्धी कानुनमा भएको व्यवस्था अनुसार नेकपा एसले तीन प्रतिशत थ्रेसहोल्ड मत ल्याउन नसक्दा राष्ट्रिय दल बन्नबाट वञ्चित भएको हो ।

प्रत्यक्षमा १० सिट जितेको नेकपा एसले समानुपातिकतर्फ दुई लाख ९८ हजार ३९१ मत पाएको छ । यो निर्वाचनमा कुल खसेको मतमध्ये एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको थियो । सदर मत मध्येबाट थ्रेसहोल्डबाट जोगितका लागि एकीकृत समाजवादीले १८ हजार ४११ अर्थात् ३ लाख १६ हजार ८०२ मत ल्याउन सकेन । तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दलको हैसियतले पाउने सबै सेवा सुविधा गुमाएको छ ।

ओलीको त्यो भविष्यवाणी

निर्वाचनअघि सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालको नाम नै किटेर नेकपा एसले तीन प्रतशित थ्रेसहोल्ड नकटाउने दाबी गरेका थिए । निर्वाचन पछिको दलहरूको सम्भावित परिणामबारे ओलीले गरेको भविष्यवाणी एकीकृत समाजवादीको हकमा मिलेको छ ।

‘माधव नेपालको पार्टी नेकपा एस छ । हामीबाट चोइटिएर गएको दुई/चार जनाएको एक गिरोहले एक/दुई सिट पनि ल्याउँछ कि ल्याउँदैन थाहा छैन । समानुपातिकमा तीन प्रतिशत मत ल्याउँदै–ल्याउँदैन त्यो भोट नगने हुन्छ । राष्ट्रिय पार्टी कुनै हालतमा बन्दैन । यो रेकर्ड गरेर राख्नोस्’, उनले भनेका थिए ।

यसैगरी ओलीले एक टेलिभिनजलाई दिएको अन्तर्वार्तामा प्रत्यक्षमा एमालेले ९०/१० सहित १५० सिट जित्ने दाबी गरेका थिए । कांग्रेसले अघिल्लो निर्वाचनको तुलतामा उद्धुम ल्याए दोब्बर मत ल्याउने दाबी गरेका थिए । २०७४ को निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा २३ सिट जितेको थियो । राप्रपा र जसापाले एमालेको साथ पाएकाले राष्ट्रिय दल बन्ने उनको जिकिर थियो । सत्ता गठबन्धनमा सहभागी दल लोसपा पनि राष्ट्रिय दल नबन्ने घोषणा गरेका थिए । ओलीले आफ्नो दलको बाहेक योपटक अन्य दलको भविष्यवाणी थोरबहुत मिलाएका छन् ।

एमालेलाई धुलोपिठो पार्न जन्मेको एकीकृत समाजवादी आफैं धुलोपिठो

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग मिलिभगत गरी दुई/दुईपटक संसद विघटन गरेको आरोप लगाउँदै माधव समूहले गतवर्ष ओली विरुद्ध विद्रोह गरेका थिए । नेपाली कम्युनिस्ट आन्दोलन, संविधान, लोकतन्त्र र व्यवस्थामाथि ओलीले प्रहार गरेको आरोप लगाउँदै माधव समूहले २०७८ भदौ २ गते एमालेबाट अलग भएको थियो । पार्टीबाट अलग भएसँगै कांग्रेस र माओवादसँग मिलेर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेलाई धुलोपिठो पार्ने रणनीति नेपालले बनाएका थिए ।

सार्वजनिक मञ्चबाट नै ओलीलाई चुनौती दिँदै नेपालले निर्वाचनपछि एमालेको अस्तित्व समाप्त हुने चेनावनी दिएका थिए । प्रतिनिधिसभामा गठबन्धनसँग १९ सिटमा तालमेल गरेको नेकपा एसले प्रत्यक्षमा १० सिट जित्न सफल भएपनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्दा ठूलो धक्का खाएको छ । अर्कोतर्फ उसहितको गठबन्धनले पनि बहुमत ल्याउन सकेन । निर्वाचनमा लज्जास्पद हारसँगै एकीकृत समाजवादीका नेता तथा कार्यकता निराश देखिएका छन् ।

एमालेलाई हराउन पाँच दलको गठबन्धन गर्दासम्मेत समानुपातिकमा एमालेले सबैभन्दा लोकप्रिय मत पाएको छ । प्रत्यक्षततर्फ ४४ सिट जितेको छ । जुन कांग्रेसकले जितेकोभन्दा १३ सिट कम हो । निर्वाचनमा पराजयसँगै १५ वर्ष एमालेको शक्तिशाली महासचिव रहेका माधव नेपाल, पाँच वर्ष अध्यक्ष र विभिन्न चरणमा महासचिव भएका झलनाथ खानालमाथि नै नैतिक संकट देखिएको छ । जुन पार्टी एमालेलाई सिद्धयाउन जन्मिएको थियो निर्वाचनबाट आफै सिद्धिएको छ ।