काठमाडौं,२२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चुनावी खर्च पेश गरेका छन् । झापा क्षेत्र नम्बर पाँचबाट निर्वाचनमा सहभागी भएका ओलीले मंगलबार आफ्नो प्रतिनिधिमार्फत निर्वाचन कार्यालय झापामा चुनावी खर्च पेश गरेका हुन् ।
ओलीले चुनावी प्रचार सामग्री छपाइ, यातायात, खाजा खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत गरी विभिन्न शीर्षकमा १८ लाख ८२ हजार ५० रुपैयाँको चुनावी खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेले बताए।
सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवारले ३१ लाख रुपैयाँ चुनावमा खर्च गर्न पाउने प्रावधान थियो। निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण बुझाइसक्नु प्रावधान छ। सो म्यादभित्र खर्च विवरण नबुझाए निर्वाचन आयोगले जरिवाना गर्नेछ।
झापाका ५ निर्वाचन क्षेत्रबाट ९४ जना प्रतिनिधिसभा र ९८ जना प्रदेशसभा गरी १९२ जना उम्मेदवारमध्ये बुधवार दिउँसोसम्म ७३ जनाले चुनावी खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिए। जसमा ४० जना प्रतिनिधिसभा र ३३ जना प्रदेशसभा सदस्यतर्फका उम्मेदवार छन्।
जिल्लाबाट निर्वाचित पाँच जना प्रतिनिधिसभा र १० जना प्रदेशसभा सदस्यमध्ये हालसम्म तीन जनाले मात्र चुनावी खर्च विवरण बुझाइसकेका छन्।




















