काठमाडौं, २१ मंसिर । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले सचिवालय बैठक बोलाएर समानुपातिक सांसदको निर्णय गर्न लागेको हो ।

निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेका उम्मेदवारहरुको क्लष्टरसहित सूचीमा रहेको नाम मिलाएर पठाउन पत्र पठाएलगत्तै एमालेले बैठकबाटै निर्णय गरेर पठाउन लागेको हो । एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् ।

उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार शुक्रबार दिउँसो १ बजे बैठक बोलाइएको छ । निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार बेलुका पत्र पठाएको हो ।

आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट खसआर्य, आदिवासी जनजाती, दलित, थारु, मधेसी र मुस्लिम गरी ६ वटा क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनु पर्नेछ । त्यसका आधारमा आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्नेछ ।

समानुपातिकमा छानिने ३४ जनामध्ये एमालेले बन्दसूचीमा रहेकाबाट ३३ प्रतिशत पुर्याउनका लागि १९ जना महिला पठाउनुपर्ने देखिएको छ । एमालेले २१ जनासम्म महिलाको नाम पठाउने गृहकार्य अघि बढाएको छ । अन्य उम्मेदवार भने पुरुष निर्वाचित हुनेछन ।