काठमाडौँ,२३ मंसिर । प्रतिनिधिसभाको चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समानुपातिकतर्फबाट सांसद चयन विधिअनुसार गर्न पार्टी नेताहरूले दबाब दिएका छन् । पार्टीले निर्वाचन आयोगमा बुझाएको सूची हेरफेर गरी सांसद चयन गर्न लागिएको आशंका गर्दै नेताहरूले सचेत गराएका हुन् ।
रास्वपाका सुनसरी जिल्ला सभापति तथा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाले बिहीबार पार्टी केन्द्रीय कार्यालय पुगेर विधि नमिच्न नेतृत्वलाई सचेत गराएका हुन् । नेपालमा पहिलो पटक उम्मेदवार छनोट गर्न निर्वाचन गरेको पार्टीमा सांसद छनोट गर्दा पनि क्रमसंख्याअनुसारै हुनुपर्ने उनले बताए । ‘हाम्रो पार्टीमा टिकट लिँदा एक पैसा पनि लागेको छैन र कसैलाई पनि चिन्नुपरेको छैन, त्यसैअनुसार प्रत्यक्षतर्फको चुनाव सकिसकेका छौं, अहिले केन्द्रीय कमिटी बैठक बस्दै छ, त्यसमा हाम्रो ध्यान बन्दसूचीअनुसारै सांसद बनाउनुपर्छ भन्नेमा छ,’ उनले भने । उनले आफ्नो कुरा पार्टी सभापति रवि लामिछानेसँग पनि राखेको र सकारात्मक जवाफ पाएको उनको भनाइ थियो ।
रास्वपाका प्रवक्ता मुकुल ढकालले समानुपातिक सांसद चयन र निर्वाचनको समीक्षा गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिएका छन् । उनले शनिबार ११ बजे केन्द्रीय कार्यालयमा बैठक बोलाइएको बताए । ‘मतदातालाई धन्यवाद, निर्वाचनको समीक्षा, समानुपातिक सांसद तय र आगामी दिनमा पार्टी कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको छ,’ उनले भने । प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ १३ सिट प्राप्त गरेको छ । निर्वाचन आयोगले सबै राजनीतिक दललाई बन्दसूचीअनुसार क्लस्टर मिलाएर समानुपातिकबाट सांसद बन्नेको नाम पठाउन पत्राचार गरेको छ । ढकालले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीको क्रमअनुसार नै सांसद चयन हुने बताए ।
रास्वपाका केही नेताले समानुपातिक सूचीको क्रमभन्दा बाहिरका मान्छेलाई सामाजिक सञ्जाल र व्यक्तिगत रूपमा समानुपातिकबाट सांसद भएको भन्दै बधाई दिन थालेपछि नेताहरूमा आशंका उब्जिएको हो । आयोगमा बुझाएको बन्दसुचीको क्रमसंख्यामा नमिची दलको शनिबार बस्ने बैठकमा समानुपातिक सांसद चयन गर्न लागिएको काठमाडौं–६ बाट निर्वाचित शिशिर खनालले बताए । ‘कसलाई छनौट गर्ने भन्ने पार्टीमा छलफलसमेत भएको छैन, बाहिर आएको नाम पार्टीको आधिकारिक होइन, निर्वाचन आयोगमा बुझाएको बन्दसुचीमा नियम अनुसार छनौट गरेर पठाउँछौं, क्रमसंख्या तलमाथि पर्दैन,’ उनले भने ।
सुनसरी जिल्ला सभापति थापाले रास्वपा सरकारमा पनि जान नहुने धारणा राखेका छन् । उनले भने, ‘२ सय ७५ सिटका लागि भएको चुनावमा २० सिट पायौं, २० सिट पाउनुको अर्थ अब प्रतिपक्षमा बस्नुपर्छ भन्ने हो ।’
रास्वपाभित्र सरकारमा जाने कि नजाने भन्ने विषयमा नेताहरूको फरकफरक मत रहेको नेताहरूले बताएका छन् । केही नेताले सर्त राखेर सरकारमा जानुपर्छ भनिरहेका छन् भने केहीले अहिले नै सरकारमा जान नहुने र पुराना राजनीतिक दलको नेतृत्वमा कुनै हालतमा सरकारमा जान नहुने भन्दै नेतृत्वलाई दबाब दिइरहेका छन् । प्रवक्ता ढकालले भने पार्टीले अगाडि सारेका मुद्दा सम्बोधन भए सरकारमा जाने बताए । उनले सरकारमा सहभागिताबारे संसदीय दल गठन भइसकेपछि छलफल गर्ने जानकारी दिए ।
‘महिला ३३५ भन्दा बढी राख्न पाइन्छ’
निर्वाचन आयोगले शनिबार चार बजेसम्म बन्दसूचीमा रहेका उम्मेदवारको नाम छनोट गरेर पठाउन दललाई पत्र पठाइसकेको छ । छनोट गर्ने आधार र कुन समूहबाट कति छान्ने भन्ने पत्रमै लेखेका छौं । उम्मेदवार छनोट गर्दा महिला ३३ प्रतिशत हुनैपर्छ तर बढीमा जति पनि राख्न सकिन्छ ।
दलले महिला एउटा समूहबाट मात्रै र पुरुषजति अर्को समूहबाट पनि छान्न सक्छन् । जस्तै: महिला आदिवासी समूहबाट मात्रै लैजाने र पुरुष सबै खस आर्य तथा अरू समूहबाट पठाउन पनि पाइन्छ । तर, बन्दसूचीको क्रमसंख्या मिच्न पाइँदैन । अपांगता भएका, पिछडिएको क्षेत्र र अल्पसंख्यकलाई भने समूहको तलबाट माथि पनि तान्न सकिने छुट आयोगले दललाई दिएको छ । दलले बुझाएको विवरण सोमबारसम्म थप मिलाउन सक्नेछन् । सबै काम सकेर २९ गतेसम्म राष्ट्रपतिलाई प्रतिवेदन बुझाइसक्ने योजनामा छौं ।




















