काठमाडौं,४ पुस । नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले राजनीतिक दल राष्ट्रिय पार्टी हुन नसके पनि त्यसबाट निर्वाचित सांसद् स्वतन्त्र हुन नसक्ने बताउनुभएको छ ।
सो पार्टीबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रमका बोल्दै भुसालले दलबाट निर्वाचित सदस्यहरू संसदीय दलका सदस्य हुने बताउनुभयो । उनीहरूलाई संसदीय दलको निर्देशन लागु हुने र नमाने कारबाही हुने भुसालले बताउनुभयो ।
दलको कारबाही राष्ट्रिय दल भए पनि नभए पनि लागु हुने भुसालको भनाइ छ । त्यसैले एकीकृत समाजवादीबाट निर्वाचित संसद्लाई दलको अनुशासन पालना गर्न उहाँले निर्देशन दिनुभयो ।
नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन र पार्टी संसदीय दलको विधान अनुसार सांसदहरू अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । भुसालले सांसदहरूलाई विधि अनुसार चल्न आग्रह गर्नुभयो ।




















