काठमाडौं,४ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी शक्ति मिलेर सरकार बनाउने कुरा अलमल्याउने कुरा मात्र हुने बताउनुभएको छ ।
सोमबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उहाँले भएको गठबन्धन छोडेर नभएको गठबन्धनमा विश्वास गर्दा घरको न घाटको हुन सक्ने टिप्पणी गर्नुभयो ।
‘कसैले गैरवामपन्थी सरकार बनाउने कुरा उठाउने गरेका छन्, त्यो खयाली पुलाव मात्र हो । कसैले वामपन्थीको सरकार बनाउने कुरा सोचिरहेको छ, त्यो पनि अलमल्याउने कुरामात्र हो । त्यसो हुनाले यस्तो कुरालाई सजिलो गरी पत्याउन सक्तैनौं’ अध्यक्ष नेपालले भन्नुभयो, ‘भएकाको विश्वास गुमाउने अनि हुदै नभएकाको विश्वास गरेर घर न घाटको हुने, त्यस्तो गल्ती हामी गर्न सक्दैनौं ।’
उहाँले अहिले नै नेकपा एमालेसँग मेलमिलाप हुन सक्ने सम्भावना नभएको पनि संकेत गर्नुभयो । २०७४ को चुनावमा आएको जनादेशबाट राम्रो शिक्षा लिएर अगाडि बढेको भए अहिले बेग्लै नतिजा आउने भन्दै उनले तर सबै कुरा आफूहरुको हातमा नभएको बताउनुभयो ।
अध्यक्ष नेपालले अहिलेकै गठबन्धन कायम राख्ने भनेर संयुक्त वक्तव्य जारी गरिसकेको भन्दै गठबन्धनकै सरकार बन्ने बताउनुभयो । नेता नेपालले बजारमा चलेका हल्लाको पछाडि नलाग्न पनि सांसद र पार्टीका नेताहरुलाई आग्रह गर्नुभयो । ‘बजारमा फैलिएका हल्लाको पछाडि जाने कुरा पनि आउँदैन, यस अर्थमा सबै कुरामाथि हाम्रो नजर पुग्नुपर्छ, गहिरो विश्लेषण गर्नुपर्छ । भित्रभित्र चलिरहेका अनेक खेलहरु थाहा पाउन सक्नुुपर्छ । सबै कुराप्रति सजग हुनुपर्छ, तर हल्लाका पछि पनि जान भएन ।’
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो कुराकानी भएको र दुबै नेता गठबन्धन कायम राख्न तयार रहेको भन्दै नेता नेपालले संसदीय दलको नेता चयन भएपछि मात्र छलफल अघि बढ्ने बताउनुभयो ।