काठमाडौं,५ पुस । लैनचौरस्थित एम्बास्डर होटलमा बसेको नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सकिएको छ।
बैठकले आफ्नो समूहलाई एकढिक्का राख्ने गरी एक जना मात्रै उम्मेदवार बनाउने समझदारी गरेका छन् । तर को उम्मेदवार हुने भन्ने अझै निश्चित भइसकेको छैन।
संसदीय दल नेताका लागि नेता शेखर कोइराला पनि उम्मेदवार हुन इच्छुक देखिएका छन्। महामन्त्री गगन थापाले चुनावका बेलादेखि नै संसदीय दल नेतामा चुनाव लड्ने घोषणा गरेका थिए।
आज बिहान ८:३० बजेदेखि ११:३० बजेसम्म होटल एम्बास्डरमा बसेको बैठकले कोइराला समूहबाट एक जना मात्रै उम्मेदवार बनाउने निष्कर्ष निकालेको छ।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले लगभग सहमति जुटेको र अबको एक घन्टापछि सुखद खबर आउने पत्रकारहरूलाई बताए।
अर्का नेता सञ्जय गौतमले अब नेता कोइराला र महामन्त्री थापा एक्लाएक्लै केहीबेर छलफल गरेपछि सहमति जुट्ने बताए। आज दिउँसो २ बजेदेखि ३ बजेसम्म संसदीय दल नेताका लागि उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन तालिका छ।




















