काठमाडौं, २३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका निर्वाचित सांसदहरूसंग अगामी २६ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिलाउन आग्रह गर्नुभएको छ ।

शनिबार पार्टी संसदीय विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारलाई असफल पार्ने प्रयासमा कांग्रेस लागिरहेको भन्दै पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशनसमेत दिनुभयो ।

‘पुस २६ गते सबै साथीहरु कुनै इफ बट हुँदैन । भनेको समयमा संसदमा एक मिनेट ढिला नगर्नुहोला’, ओलीले भन्नुभयो ।

उहाँले सरकारलाई विश्वासको मत दिएर सफल पार्नुपर्ने भन्दै वर्तमान सरकार नेपालीले बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारलाई विश्वासको मत दिने काम गर्नुपर्छ । यो नेपालीहरुले बनाएको सरकार हो । यसलाई सफल सरकार बनाउन चाहान्छौ हामी । यसले सही नीति लिओस्, भ्रष्टाचार नसहोस्, सक्रियतापूर्वक अघि बढोस् । हामी यो चाहान्छौ । त्यसैले यसलाई बहुमत दिएर हामीले पुष्टि गर्नुपर्छ । यो सरकारलाई पुस २६ अघि नै ढाल्न कांग्रेस लागिपरेको परेको छ । त्यसैले सचेत हुनु जरुरी छ ।’