काठमाडौँ,१९ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको करनी र कथनीमा आकाश जमिनको अन्तर रहेको बताउँदै एक जना जिल्ला सभापतिले पार्टी परित्याग गरेका छन् ।

चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी सभापतिबाट राजीनामा दिएको बताएका छन् । उनले अब आफू ‘स्वतन्त्र’ भएर रहने उल्लेख गरेका छन् ।

वैकल्पिक राजनीतिको चर्चा गर्दै सुशासनको मुध्दा  उठाएका रविको नागरिकता र पासपोर्ट काण्ड छताछुल्ल भएपछि उनको पार्टीमा आवद्धहरु निराश देखिन्छन् । सोही क्रममा चितवन जिल्ला सभापतिले आज राजीनामा दिएका हुन् ।

लामिछाने गत आमनिर्वाचनमा चितवनको २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा सदस्य भएका थिए । गत शुक्रबार सर्वोच्च अदालतको आदेशपछि उनले सबै लाभको पद छाड्नुपरेको छ ।

आइतबार काठमाडौंको जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएपछि सोही दिन लामिछानेलाई केन्द्रीय समिति बैठकले पार्टी सभापतिमा पुनः चयन गरेको थियो । उनको पासपोर्ट छानबिनको निम्ति अर्को उजुरी परेको छ भने आजै राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा अर्को उजुरी दर्ता गरिएको छ ।