काठमाण्डौँ,५ फागुन । राष्ट्रपति एमालेले नपाउने अवस्थामा स्वीकार्य पात्रको खोजी गर्ने विषयमा पनि पार्टीभित्र अप्रत्यक्ष छलफल सुरु भएको छ । ‘प्रचण्डजीलाई सरकारको सुरक्षाको मात्र चिन्ता छ, हामीलाई गठबन्धन कसरी सुरक्षित राख्ने भन्ने चिन्ता छ,’ एक एमाले नेताले भने । वर्तमान सत्ता गठबन्धन भत्काउने रणनीतिअनुरूप दाहालले राष्ट्रिय सहमतिको ‘झमेला’ ल्याएको पनि उनको भनाइ छ ।

ओलीनिकट नेताहरूका अनुसार एमालेले छाड्नुपर्ने अवस्थामा लोसपा अध्यक्ष महन्थ ठाकुर वा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा पनि एमालेभित्र छलफल भएको छ । केही दिनअगाडि खनालले प्रधानमन्त्री दाहालसँग भेट गरेका थिए । तर, दाहाल भने कांग्रेस सहज हुने नाममा मात्र सहमति गर्ने मनोविज्ञानमा रहेको भन्दै एमालेले आफ्ना विकल्पहरू खुला गरेको छैन ।

दाहालले राष्ट्रपति चयनलाई सरकारको सुरक्षासँग जोडेर हेरेको र यसैका लागि राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेको उनीनिकट एक नेता बताउँछन् । दाहालले सरकारको भविष्य सुरक्षित हुने सुनिश्चितता खोजेर राष्ट्रपतिमा कांग्रेससँग सहकार्य गर्न सकिने जनाउ निकट नेताहरूलाई दिएका छन् ।

एक नेता भन्छन्, ‘यो गठबन्धनमा जे–जे एजेन्डा बोकेका दल छन्, उनीहरू कहिलेसम्म एकै ठाउँ हुन्छन् भन्ने अनिश्चितता भयो । यस्तोमा सरकार सुरक्षित हुने आधार खोज्नु अन्यथा भएन । राष्ट्रिय सहमतिको प्रस्तावले त्यस्तो आधार बनाउने विश्वास छ ।’

माओवादी नेताहरूका अनुसार राष्ट्रपति पनि एमालेलाई दिएपछि राज्यको सम्पूर्ण ‘कमान्ड’ ओलीको हातमा हुने र सरकार कठपुतली मात्र हुने आशंकामा दाहाल छन् । बरु, प्रधानमन्त्री दाहाल गठबन्धनबाहिरबाट राष्ट्रपति चयनमा लागे पनि एमालेले तत्काल सरकार नछाड्ने, बरु उपयुक्त समयमा ‘बदलाको कदम चाल्ने’ अनुमान उनको छ ।

नाटकीय मोडमा दाहाल नेतृत्वमा सरकार बनाउन भूमिका खेलेका एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच शृंखलाबद्ध भेटवार्ता भइरहेका छन् तर अविश्वास बढ्दै छ । यही बेला कांग्रेसका केही नेताले फागुन १० मा गठबन्धन भत्किने सार्वजनिक अभिव्यक्ति दिएपछि ओली झस्किएका छन् ।