काठमाडौं,१८ जेठ  । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले सच्चा राष्ट्रवादी भएको बताउनुभएको छ । 

सिरहाको गोल बजारमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले राष्ट्रको हित विपरीत हुने कुनै पनि सहमति सम्झौता एमालेलाई मान्य नहुने बताउनुभयो । पोखरेलले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी वृहत् र व्यवस्थित पार्टी बनाउनु पर्नेमा जोड दिनुभयो । 

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गलत सहमति गर्न सक्ने पोखरेलले आशंका गर्नुभयो । प्रचण्डले राष्ट्र हित विपरीत सम्झौता गरे पार्टी चुप लागेर नबस्ने उहाँले बताउनुभयो । 

उपाध्यक्ष पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा एमाले भएको बताउनुभयो । सबैको भविष्य नेकपा एमालेमा नै भएको उहाँले दाबी गर्नुभयो । 

सो कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश सदस्य बिना शर्मा, टीका लामा, जिल्ला सदस्य कृष्णा सिंह, ज्ञान कुमार सिंहसहित विभिन्न पार्टी परित्याग गरी सयौँको नेता, कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ ।

बुधबारै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सागरदेवी चौधरी, पूर्व प्रदेश सभा सदस्य अशोक यादव, सो पार्टीका नेता मानवीर यादव, पूर्व गाउँपालिका उपाध्यक्ष अमला यादव, जिल्ला कमिटी सदस्य रामनारायण यादव, वडा अध्यक्ष प्रत्याशी सुमेश यादव, शुभक लाल यादव एमाले प्रवेश गर्नुभएको छ । 

यसै गरी अनिल यादवको नेतृत्वमा विवेकशील साझा पार्टीको सम्पूर्ण जिल्ला कमिटी र जनता समाजवादी पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । 

नेकपा एमाले सिराहा जिल्ला कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा भएको वृहत् पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठ, नेकपा एमाले बाट निर्वाचित नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्ष र पार्टीका नेताहरूको सहभागिता रहेको थियो ।