काठमाडौं , १७ असार । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास भ्रष्टाचार प्रकरणमा आफ्नाे कुनै संलग्नता नहरेकाे दाबी गरेका छन् ।आज सामाजिक सञ्जालमा लामाे स्पष्टीकरण दिँदै भट्टराईले जनतालाई गुड र गोबर छुट्याउन सहज पार्नका लागि याे प्रकरण छिटो टुंगोमा पुर्‍याउनुपर्ने बताए । 

उनले कुनै पनि ढंगले यो प्रकरणमा आफ्नाे र आफूसँग निकट कुनै व्यक्तिको स्वार्थ नजोडिएको दाबी गर्दै कसैले आजसम्म त्यस्तो आरोप पनि नलगाएकाे बताएका छन् । उनले कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् भन्ने कुरामा सचेत रहनुपर्ने धारणा पनि राखेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन् :

ललिता निवास प्रकरणको पुछारमा मेरो प्रमकालको मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासोसहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गर्नुभएको छ । मेरो करिब १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौँ निर्णय भएका छन् तीबारे प्रमले सबै सम्झनसक्ने कुरो हुँदैन ! मपका निर्णयहरू एकाधबाहेक सबै सम्बन्धित मन्त्रालयबाटै उत्पत्ति भएर आएका हुन्छन् । तिनलाई मुख्यसचिवले बैठकमा प्रस्तुत गरेपछि मपको सम्बन्धित समितिमा पठाइन्छ । त्यसले सबै जाँचबुझ गरेर सिफारिस गरेपछि मपले विधिवत् निर्णय गर्छ। ललिता निवास सम्बन्धी प्रस्ताव भूमिव्यवस्था मन्त्रालयबाट आएर मपको सामाजिक (?) समितिमा छलफलपछि मपबाट पारित भएजस्तो लाग्छ।मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियमअनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ। यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनेको छु। तत्कालीन प्रमको हैसियतले मसँग जोडिएको कुरा यत्ति हो ! त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन । कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप ळगाएको पनि छैन । देशमा राज्यको सम्पत्ति निजी लाभकोनिम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउँदै आएको छु । त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु। बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्; अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् ।