काठमाडाैं,२१ असार । संविधानविद् भीमार्जुन आचार्यले कोशी प्रदेश सरकार गठनमा सभामुखको संलग्नता असंवैधानिक रहेकाे बताउनुभएकाे छ ।

सभामुख बाबुराम गौतम समेतको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएपछि संविधानविद् आचार्यले याे असंसदीय र असंवैधानिक कदम भएकाे सामाजिक सञ्जालमा उल्लेख गर्नुभएकाे छ ।

सरकार गठनका लागि हस्ताक्षर गरेर काेशी प्रदेशका सभामुख गाैतमले संसद्काे अपहेलना गर्नुभएकाे उहाँले उल्लेख गर्नुभएकाे छ । 'सभामुखकै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन, यस्तो कार्य असंसदीय र असंवैधानिक छ, सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिन्छ, कोशी प्रदेशका सभामुखको यस्तो कार्य संसद्को अपहेलनाजन्य कार्य हो, यसरी सरकार गठन गर्नु भन्दा त प्रदेश सरकार नै नरहनु ठीक हुन्छ'- आचार्यले लेख्नुभएकाे छ ।