विराटचोक,२२ असार । मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ परेका छन् । योजनाको बजेट फर फारक गर्नका लागि उनले घुस मागेका थिए ।
शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएका टोलीले लेखा अधिकृत शेखर ढकाललाई पक्राउ गरेको हो ।
सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकाले अख्तियारले लेखा शाखामा छापा मारेको बताए । अख्तियारको टोलीले उनलाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ । ढकाललाई कार्यकक्षबाटै पक्राउ गरिएको हो ।
ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको स्रोतले बताएको छ ।


