• ✍️ तारा पराजुली 

हामी जन्मेको गाउँतिर 
मान्छेहरु मलामी जाँदा
मलामीजस्तै लाग्थे।
        ****
अलिकति मलिन अनुहार
एक हरफ पीडाको लामो लस्कर
केहि छुटाउनुपर्दाको अभावको सन्नाटा
न दुख्नेगरि हाँस्थे
न बिझ्नेगरि बोल्थे
बाँच्दाको दुश्मनसमेत
रिसइवीको विगत बिर्सेर शोकमा शोकाकुल हुन्थे।
      ****
कर्मी मौरीको जत्थाजस्तै
घाट पुग्नुअघि
वाटैदेखि दाउरा भेला गर्थे
मैले थाहा पाएसम्म
गाउँमा कसैले कसैको मृत्युलाई उत्सव मनाएनन् 
गाउँमा कहिल्यै मृत्युका नाममा ताली बजेन।
             ****
पालैपालो काध हालेर
घाटसम्म लैजान्थे लास मलामीहरु
छिमेकी डोकाभरि खाजा बोकेर जान्थे 
मलामीका लागि
र त गाउँ गाउँजस्तो थियो
इस्ट्मित्र आफ्नाजस्तै लाग्थे।
          ****
सहरमा आजभोलि
हातमा मोवाइल
काँधमा क्यामेरा बोकेर जान्छन् मलामीहरु
अनि जल्दै गरेको लासमाथि 
उडदै गरेको धुवाँसमुनि
अन्तर्वार्ता लिने र दिनलाई 
भीड भीड गर्छन् मलामीहरु।
           ****
यो मतलवी सहर
यति निर्दयी र निरङ्कुश बन्यो कि,
जन्ती र मलामी छुटाउनै मुश्किल।
                ****
अचेल त यस्तो लाग्न थालेको छ
सहरमा के छ यस्तो?
जहाँ मान्छेलाई हेर्दाहेर्दै कठोर ढुङ्गा बनाउँछ।