विराटनगर,१० भदौ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारको नालायकिपनले बजेट शून्यतामा गएको बताउनु भएको छ ।
आइतबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै कोशी प्रदेशको पुर्व मुख्यमन्त्री समेत रहनु भएको कार्कीले सरकार गैरजिम्मेवार बन्दा कोशी प्रदेशमा बजेट शून्यतामा गएको बताउनु भएको हो ।
प्रदेशमा बजेट होलिडे हुँदा जनताले तिर्न करसमेत लिन नमिल्ने भएको उहाँले बताउनु भयो। उहाँले ‘प्रदेशमा यस्तो अवस्था आउनु दुखद कुरा हो । बजेटको विषयमा सरकार संवेदनशील नबन्दा प्रदेश बजेटबिहीन भएको छ ।’
कोशीमा आजदेखि बजेटबिहीन हुने भएको छ । यसअघि कार्की नेतृत्वको सरकारले साउन ३२ गते अध्यादेशमार्फत बजेट ल्याएको थियो । उक्त बजेट प्रदेशसभाको असार १४ गते बसेको बैठकमा पेश भएको थियो । अध्यादेश पेश भएको ६० दिन (भदौ १०) भित्र प्रतिस्थापन विधेयकमार्फत प्रतिस्थापन गर्नुपर्ने थियो । तर, प्रदेशमा राजनीतिक दलहरुबीचको असहमति र पेचिलो अंकगणितका कारण बजेट शून्यतामा गएको हो ।