काठमाडौँ,१५ भदौ।लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ ।चीनसँगको उत्तरी सीमानाका तातोपानी नाकामा आजदेखि स्थानीयको आवतजावतका लागि खुल्ने भएको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।

२०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

 प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

नुन, खुर्सानी लगायत खाद्य वस्तु सटहीबाट सुरु भएर डेढ दशकयता द्धिदेशीय व्यापारिक ‘हब’ को रुपमा स्थापित उत्तरको मुख्य तातोपानी नाका नेपालको ‘लाइन लाइन’ (जीवनरेखा) भनेर चिनिन्छ।