काठमाडाैं,१५ भदौ।एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भ्रष्टाचारका फाइल खोल्दा निष्पक्ष भएर अघि बढ्न आग्रह गरेका छन् । 

शुक्रबार समाजवादी मोर्चाले पोखरामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै नेता नेपालले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफूहरूको साथ रहने पनि बताए । 

 कुरामात्र होइन उहाँले (प्रचण्डले) देश विकासका योजना पनि सुनाउनुभएको छ । ‘भ्रष्टाचारका फाइल खोल्नुभएको छ ।भ्रष्टाचारी कोही उम्कँदैनन् भनेर प्रतिबद्धता जनाउनुभएको छ,’ नेपालले भने, ‘त्यसमा बदलाको भावनाको आधारमा होइन, निष्पक्ष अघि बढ्नुस् । हामी सबैको साथ रहन्छ ।’

उनले समाजवादी मोर्चाबारे केहीले नकारात्मक टिप्पणी गरिरहेको उल्लेख गर्दै त्यस्ता टिप्पणी गर्नेलाई सकारात्मक काम गरेर जवाफ दिनुपर्ने बताए । 

‘समाजवादी मोर्चाबारे नकारात्मक टिकाटिप्पणी गर्नेलाई जवाफ दिनुपर्छ,’ उनले भने, ‘नकारात्मक कुरा गर्नेलाई सकारात्मक काम गरेर जवाफ दिनुपर्छ, आत्तिनु पर्दैन ।

’ संघदेखि स्थानीय तहसम्मको जिम्मेवारीमा रहेकाहरूले राम्रो काम गरेर देखाउन सक्नुपर्नेमा नेपालको जोड थियो । भ्रष्टाचार गर्नेलाई दण्डित गर्नुपर्ने भन्दै उनले जुन पार्टीले राम्रो काम गरे पनि आफूहरूको सहयोग रहेन बताए ।