पोखरा,१५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा माधव नेपाललाई औपचारिक रुपमा नै चोख्याइएको घोषणा गरेका छन ।

आफ्नो सरकारको पालामा माधव नेपालको चिन्ता दूर गर्न सिआइवीलाई अनुसन्धान गर्न लगाएर औपचारिक रुपमा नै निर्दोष साबित गरिएको प्रधानमन्त्री दाहालले घोषणा गरेका हुन् । प्रधानमन्त्री दाहालकै निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले ललिता निवासको जग्गा हिनामिनाको फायल खोली निर्णयकर्ता तात्कालिन प्रधानमन्त्रीद्वय माधव नेपाल,डा. बाबुराम भट्टराई र मुख्यसचिव लिलामणि पौडेललाई प्रतिवादी नबनाउन सिफरिश गराएर टिप्पणी उठाएर आदेश पालना गर्ने कर्मचारीलाई फसाइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको ललिता निवासको छानविनमा माधव–बाबुराम र लिलामणि तानिएपछि प्रधानमन्त्री दाहालले आफ्नो पालामा सत्ताको चरम दुरुपयोग गरी मुख्य निर्णयकर्तालाई चोख्याउने काम गर्नुभएको आरोप लागेको छ ।प्रधानमन्त्री दाहालले दोषी जोगाउने काम गरेको आरोप लागिरहेको बेला पोखरामा आज आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माधव निर्दाेष साविक भएको घोषणा गरेका हुन्।

उनले सिआइबीको अनुसन्धानपछि अब पहिलो पटक माधव नेपाल औपचारिक रुपमा निर्दोष साबित भएको फैसला सुनाए  । प्रचण्डले माधव नेपाललाई मात्र नभएर आफूलाई समेत यो टेन्सनको विषय रहेको भन्दै अब त्यो टेन्सन सकिएको बताए। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला आफू र माधव एउटै मोर्चामा रहेको भन्दै प्रधानमन्त्री दाहालले त्यसबेला कतै षड्यन्त्र हुने हो कि भन्ने डर लागेकोले भाँडभैलो मच्चाएको स्वीकारोक्ति पनि गरे ।

ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुलाई अनुसन्धान गर्नु भनेर सर्बोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको र सिआईबीको अनुसन्धानका आधारमा सरकारी वकिलले मुद्दा अघि बढाएका बेला प्रधानमन्त्रीले दोषी र निर्दोष आफै घोषणा गरेका छन ।

माधव नेपालबारे यस्तो छ प्रधानमन्त्रीको भनाई

माधवजी पनि यहाँ हुनुहुन्छ। उहाँको बारेमा पनि धेरै प्रश्नहरु के हो ? कसो हो भनेर बोलिनै राखिएको छ । पहिलो चोटी अहिले उहाँ निर्दोष हो भन्ने साबित भएको छ। तपाईंहरु विचार गर्नुहोला, औपचारिक रुपमा साबित भयो । अब प्रश्न गर्ने ठाउँ रहेन किनभने सिआईबीले उहाँको पनि के हो कुरा भनेर बयान त लियो । बयान लिएर निर्दोष साबित गरेर बयान लिनु नपर्ने लिखित रुपमै दिएपछि सधैंको टेन्सन खत्तम भयो ।

माधवजीलाई मात्रै टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि । त्यो टेन्सन केपी ओली प्रधानमन्त्री हुँदा पनि मलाई थियो । हामी त एउटै मोर्चामा थियौं । कहीँ न कहीँ षड्यन्त्र हुने हो कि भन्ने आशंका थियो । अब त्यो स्थिति रहेन । दोषी गइरहेका छन, निर्दोष निर्दोष साबित भएका छन । म तपाईंहरुले के विश्वास दिलाउँछु भने यो अभियान रोकिँदैन । मैले प्रधानमन्त्री हुँदा सुरुमा यो १५ दिने हुने हो कि एक महिने भन्ने लागेको थियो । गर्दै जाँदा आठ महिना हुन लाग्यो, गर्दै जाँदा वर्ष बित्छ जस्तो पनि देख्छु मैले । यो गठबन्धन त पाँचै वर्ष जान्छ । प्रधानमन्त्री हेरफेर भएपनि यो एउटा महाअभियान चल्ने देखेको छु । तपाईंहरु ढुक्कसँग अघि बढ्नुस । सरकार दृढताको साथ यो लडाईंलाई निष्कर्षमा पुर्याउँछ । जनता टाइम्स