काठमाडौं,१५ भदौ । नेकपा एकीकृत समाजवादी छाडने क्रम ह्वात्तै बढेको छ । माधवले पार्टी भन्दा आफ्नो घर चलाए जसरी अघि बढेको भन्दै दिनदिनै सो पार्टीका नेता कार्यकर्ताहरु पार्टी परित्याग गरी नेकपा एमालेमा फर्कने क्रम बढेको हो ।
यही क्रममा आज नेकपा एकीकृत समाजवादी निकट कर्मचारीहरुको एउटा संगठन एमालेमा समाहित भएको छ । नेकपा एस निकट नाडेप कर्मचारी संगठन आज एमाले जनसंगठन पेशागत महासंघमा समाहित भएको हो । सो संगठनको ५६ जिल्ला र ८२ वटा शाखा रहेका छन ।
नाडेपका नेता तथा नेकपा एस निकट पेशागत महासंघका उपमहासचिव रामकुमार महतको नेतृत्वमा सो संगठनमा रहेका सवै कमिटी आजबाट एमालेमा समाहित भएको हो । पेशागत महासंघका उपाध्यक्ष भोला पोखरेलको संयोजनमा उहाँहरु एमाले जनसंगठन पेशागत महासंघमा समिाहत हुनुभएको हो ।
एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितका नेताहरुले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभयो । नवप्रवेसीलाई स्वागत गर्दै अध्यक्ष ओलीले जनताको पक्षमा उभिँदा एक्लै भए पनि उभिनु पर्ने बताउनुभयो । उहाँले नेकपा एमाले कार्यकर्ताको मात्र नभएर नेपाली जनताको पार्टी भएको बताउनुभयो । नेकपा एमाले एउटा महाअभियानमा लागेको उहाँले प्रष्ट पार्नुभयो । एमाले सुखी नेपाली, समृद्ध नेपालको महाअभियानमा रहेको उहाँले बताउनुभयो ।
यसका लागि सबै क्षेत्रमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कुनै एक क्षेत्र वा कुनै एक व्यक्ति मात्रै छुट्यो भने पनि सुखी नेपाली, समृद्ध नेपालको अभियान सफल हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । केही मानिसहरूले अहिले नेपालमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर कुप्रचार गरिरहेका भन्दै ओलीले आपत्ति जनाउनुभयो । नेपालमा व्यवस्थासँगै अवस्थामा आमूल परिवर्तन भएको बताउनुभयो । महिलालाई प्रधानन्यायाधीशदेखि राष्ट्रपतिसम्म यही परिवर्तित व्यवस्थाले बनाएको उहाँले प्रष्ट पार्नुभयो ।
अहिले आफू लम्पसार परेर भए पनि छिमेकीलाई खुसी पार्न एक थरी शक्ति लागेका कारण राष्ट्रिय हित र स्वाभिमान भने खतरामा परेको उहाँले बताउनुभयो । ओलीले बाहिर एउटा कुरा र भित्र अर्को कुरा गरेर देशको प्रगति र सार्वभौमसत्ताको रक्षा नहुने बताउनुभयो । त्यसैले आफ्ना कुरा प्रष्ट रूपमा राख्नु पर्ने उहाँको धारणा छ । नेकपा एमाले चार वर्ष अघिदेखि नै मिसन २०८४ को अभियानमा लागेको उहाँले बताउनुभयो । त्यसलाई लक्षित गरी जनताको बिचमा गइरहेको उहाँले प्रष्ट पार्नुभयो ।
ढोडको लौरा टेकेर सरकामा बसेकाहरूले अहिले सडकमा जनता उतार्ने कुरा गरिरहेका भन्दै उहाँले आश्चर्य प्रकट गर्नुभयो । उनीहरूलाई यही सरकारले गरिदेला र खाउँला भन्ने आस नभएको कारण सडकमा जाने घोषणा गर्दै प्रधानमन्त्री हिँड्नुभएको ओलीले बताउनुभयो । निर्णय गर्ने ठाउँमा आफैँ भएको व्यक्तिले सडक आन्दोलनको कुरा गर्नु अस्वाभाविक भएको उहाँको भनाइ छ । ‘सडकमा जनता उतार्ने आँट कहाँबाट आयो, ढोडका लौरा टेकेका छन्’, उहाँले भन्नुभयो ।
सत्ता गठबन्धनको एउटा नाटकको पर्दा उघ्रिसकेको ओलीले बताउनुभयो । नक्कली भुटानी शरणार्थी, बालुवाटारको जग्गा र सुन तस्करी प्रकरणमा आफ्नै मान्छेहरू जोडिएपछि अहिले सरकार र गठबन्धनका मान्छेको भागाभाग भएको ओलीले बताउनुभयो । ओलीले सरकारलाई एमालेलाई आरोप लगाएका सबै घटनाको छानबिन गरेर देखाउन चुनौती दिनुभयो । अब गठबन्धन सरकारसँग देखाउने कुनै पनि कुरा बाँकी नरहेको उहाँले बताउनुभयो ।
नेपालको इतिहासमा यति भ्रष्ट सरकार अहिलेसम्म नबनेको उहाँले बताउनुभयो । एउटा बाटोबाट मात्रै क्विन्टलका क्विन्टल सुन सरकारकै संरक्षणमा भित्रिएको उहाँको भनाइ छ । सुन तस्करी प्रकरणमा सरकारले खुलेआम तमासा देखाएको ओलीले बताउनुभयो । यसो भनिरहँदा नेकपा एमाले सरकारमा जान नहतारिएको ओलीले बताउनुभयो । तर देश बरबादी तर्फ गएको बताउँदै ओलीले देश जोगाउने कुरामा सबै लाग्नु पर्ने प्रष्ट पार्नुभयो ।




















