काठमाडौं,२१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले कामले भन्दा विवादित अभिव्यक्तिले बढी चर्चामा छन् । आफ्नो तेस्रो कार्यकालमा भाषण कम,काम धेरै गर्ने प्रतिज्ञासहित प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड विवादित अभिव्यक्तिले बढी चर्चामा आएका हुन् ।
राजनीतिमा अस्थिरताको कारकको बिल्ला भिरेका प्रचण्ड कतिबेला के बोल्छन कुनैे टुंगा नै हुँदैन । उनको यस्तै चरित्रका कारण पछिल्लो समय गठबन्धन दल र नेताहरु पनि चिढिदै गएको आशंका छ ।
मंगलबार मात्रै गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रचण्डले पदीय मर्यादा भुलेर अराजक अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाए ।
कोइराला मात्रै होइन, महामन्त्री गगन थापालगायतका अन्य नेताहरुले पनि बारम्बार प्रचण्डका अभिव्यक्तिलाई लिएर प्रश्न गर्ने गरेका छन् ।
केही समयअघि प्रधानमन्त्री बन्न भारतको भूमिका रहेको आशयको अभिव्यक्तिले त झन् उनी विवादित मात्रै भएनन्, सदन र सडकमा उनको राजीनामा नै मागियो ।
त्यसपछि साउन २४ गते विश्व आदिवासी दिवसको अवसरमा जातीय पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने भन्दै दिएको अभिव्यक्तिले पनि उनलाई विवादमा तान्यो । यही अभिव्यक्तिलाई लिएर कांग्रेस नेताहरुले आजसम्म पनि प्रधानमन्त्री स्वयंले जातीय द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउँदै आएका छन् ।
केही दिन अगाडि प्रचण्डले भ्रष्टाचारको अन्त्य र सुशासनको निम्ति लाखौँ जनता सडक संघर्षमा उतार्ने अभिव्यक्ति दिएका थिए ।
आफै देशको कार्यकारी प्रमुख भएका बेला यस्तो अभिव्यक्ति दिएर प्रचण्डले हिंसा भड्काउन खोजेको भन्दै राजनीतिक बृतमा उनको आलोचना पनि भयो ।
गठबन्धन दलहरुको जोडबलमा जसोतसो प्रधानमन्त्री बनेका प्रचण्ड बारम्बार यस्ता विवादित अभिव्यक्ति किन दिइरहन्छन् ? भन्ने प्रश्न उठेको छ । कतिपयले प्रचण्डका अभिव्यक्ति र त्यसको काउन्टरमा कांग्रेस नेताहरुको आक्रोशले गठबन्धनमा दरार उत्पन्न भएको चर्चासमेत गर्न थालेका छन् । कांग्रेस सरकार सञ्चालन प्रक्रियाप्रति नै असन्तुष्ट बन्न थालेको छ ।
नौवटा मन्त्रालयको नेतृत्व सम्हालेको कांग्रेस नै प्रधानमन्त्री प्रचण्डको सरकार सञ्चालनको शैलीप्रति असन्तुष्ट बनेको हो । भ्रष्टाचार, अनियमिता र संगठित अपराध जस्ता प्रकरणलाई सरकारले टुंगोमा पुर्याउन नचाहेको बुझाइ कांग्रेसका नेताहरुको छ ।
नक्कली भुटानी शरणार्थी, सुन तस्करी, बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सरकारले विभेदकारी नीति लिएको भन्दै कांग्रेस नेताहरू असन्तुष्ट छन् । सभापति शेरबहादुर देउवा निकट नेताहरु पनि प्रधानमन्त्रीप्रति असन्तुष्ट छन् ।
सरकारले गरेका सकारात्मक कामको जस प्रधानमन्त्री एक्लैले लिन खोजेको आरोप कांग्रेसका नेताहरुको छ । केही दिनअघि प्रधानमन्त्री दाहालले कोशी प्रदेशप्रति संकेत गर्दै आगामी निर्वाचनमा माओवादीलाई ठूलो दल बनाए पहिचानका आधारमा प्रदेशको नामांकन गरिने बताएकोप्रति पनि कांग्रेस खुसी छैन ।
कांग्रेस सभापति देउवाले भने अहिलेसम्म प्रधानमन्त्रीले गरेका कामप्रति प्रश्न उठाउँदै सार्वजनिक रुपमा बोलेका छैनन् । तर उनी पनि भित्रभित्रै असन्तुष्ट बनेको उनी निकट नेता बताउँछन् । मिडिया डबली




















