काठमाडौं,२१ भदौ । प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले देशको सुरक्षा अवस्था अत्यन्त कमजोर भएको बताउनुभएको छ । 

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि मध्य दिउँसै काठमाडौँमा आक्रमण भएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । सो घटनालाई थामथुम गर्ने प्रयास नगर्न उहाँले आग्रह गर्नुभयो । ‘ म गृह मन्त्रीलाई प्रश्न गर्न चाहन्छु–के हामी काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाई दिन्छु भन्छ कोही खुकुरी हान्छ’, थापाले भन्नुभयो । 

उहाँले गृह मन्त्रीले म यसलाई तह लगाउँछु, छाड्दिन भन्दै हिँडेको बताउँदै जिम्मा लिनेले बोल्ने होइन काम गरेर देखाउन आग्रह गर्नुभयो । गृह मन्त्रीलाई आफ्नो कुरा व्यवहारमा देखाउन सुझाव दिनुभयो । 

काठमाडौंमा एक जना संविधान सभा सदस्य भएको व्यक्ति माथि मध्य दिउँसो आक्रमण हुँदा प्रधानमन्त्री र गृह मन्त्रीलाई पोल्नु पर्ने थापाले बताउनुभयो । समाजमा भएको असन्तुष्टि देखाएर हिंसात्मक घटनालाई प्रश्रय दिने हो भने समाज बरबादी तर्फ जाने उहाँको दाबी छ । 

अराजकताले नेपाली समाजलाई गाँज्दै गएको बताउँदै यस विषयमा सबै सचेत हुनु पर्नेमा उहाँले जोड दिनुभयो । यसले सबैलाई पिरोल्नु पर्ने बताउनुभयो । 

काठमाडौंको केन्द्रमा रहेको बाल अस्पतालमा उपचार गर्न गएकी बालिकाको समयमा नै उपचार नहुँदा ज्यान गएको प्रति पनि उहाँले सरकाको ध्यानाकर्षण गर्नुभयो । सो घटनालाई पनि ढाकछोप गर्ने प्रयास नगर्न उहाँले आग्रह गर्नुभयो ।