काठमाडौं,२१ भदौ। नेकपा माओवादी केन्द्रले केन्द्रीय अध्यक्षसँगै प्रदेश अध्यक्ष तस्विर पनि अनिवार्य रुपमा राख्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
माओवादीको बागमती प्रदेश कमिटीले मातहतका सवै पार्टी कार्यालयहरूमा प्रदेश अध्यक्षको समेत फोटो अनिवार्य रूपमा राख्नुपर्ने कार्यविधि तयार पारेर अन्तर पार्टी निर्देशन जारी गरेको हो । प्रदेश कमिटीले तयार पारेर जिल्ला कमिटीमा पठाइएको सकुर्लरमा अन्तर्राष्ट्रिय गीत, सहिदहरूको फोटो, पाँच टाउको (मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओत्सेतुङ), पार्टी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटोसँगै प्रदेश अध्यक्षको फोटो पनि अनिवार्य रूपमा राख्नुपर्ने उल्लेख छ ।
माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष हाल सरल सहयात्री पौडेल हुनुहुन्छ । पौडेल २०७८ पुस ६ गते प्रदेश अध्यक्ष निर्वाचित हुनुभएको थियो । माओवादीले पार्टी कार्यालयहरूमा पार्टी अध्यक्षको फोटो राख्ने गरे पनि अन्य नेताको फोटो प्रयोग भएको थिएन ।
सात बुँदे कार्यविधिमा कार्यालय व्यवस्थापनसम्बन्धी नीति र प्रक्रियाहरूको अभाव, कार्यालय स्थापनामा रहेका अरूची, कार्यालय व्यवस्थापनसम्बन्धी महत्वबोध नहुनुलगायत विषयलाई कार्यालय व्यवस्थापनको समस्या मानिएको छ । तर यो सर्कुलर जारी भएपछि माओवादीभित्र तीब्र बिवाद देखिएको छ ।




















