खाँदवारी,२१ भदौ । नेकपा एमाले संखुवासभाले उत्तरी नाका किमाथाङ्का तत्काल सञ्चालन गर्न माग गरेको छ । पार्टीका जिल्ला इन्चार्ज जीवन घिमिरेको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै सो माग गरेको हो ।

एमालेले जिल्लाका विकास निर्माण लगायत सामाजिक समस्याको हल गर्न सरकारलाई गभिर हुन आग्रह गरेको छ । पार्टीले बुझाएको १० बुँदे ज्ञापन पत्रमा निकट भविष्यमा नै हुने प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा किमाथाङ्का नाका सञ्चालन गर्ने प्रवन्ध गर्न माग गरेको छ ।

यसैगरी जोगवनी– किमाथाङ्का सडक निर्माणमा भइरहेको ढिलाइलाई अन्त्य गरी निर्माण कार्यलाई चाँडो सिध्याएर यहाँका जनताको जीवनलाई सहज बनाउन माग गरिएको छ । जिल्ला इन्चार्ज घिमिरेका अनुसार मकालु र चिचिला गाउँपालिकामा निर्माणधिन अरुण तेस्रो जलविधुत परियोजनाले विस्तृत परियोजना प्रस्ताव(पिडिए)मा उल्लेख भएका सर्त पालना नगरेकोले तत्काल ति प्रतिवद्धताहरु कार्यान्वयन गराउन सरकारसँग माग गरिएको छ ।