काठमाडौं,२३ भदौ । बिमानस्थलबाट भएको सुन तस्करीमा नेकपा माओवादीका प्रभावशाली ब्यापारी तानिएका छन । चार जना माओवादी मन्त्रीका पिए रहेका काम गरेका बिध ल्यावका सञ्चालक भीमकान्त भण्डारी सुन तस्करीमा तानिएका हुन ।
सत्तारूढ माओवादीसँग नजिक रहेका भण्डारी चिनियाँ सुन तस्करसँग ‘अस्वाभाविक सम्पर्क’ मा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।
सरकारी सेवामा रहँदा भण्डारी माओवादीबाट मन्त्री बनेका चार जनाको सचिवालयमा बसेका थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका महरा, पूर्वऊर्जामन्त्री वर्षमान पुन, पूर्वसंघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र पूर्वसमाज कल्याणमन्त्री आशा कोइरालाको स्वकीय सचिवालयमा बसेर काम गरेका भण्डारीले राजीनामा दिएर कोभिड महामारीका बेला बिध ल्याब सञ्चालन गरेका थिए ।
सुन तस्करीका नाइके तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग भण्डारीले मोबाइल सम्पर्क र सन्देश आदानप्रदान गरेको तथ्य सीआईबीले अनुसन्धानको क्रममा फेला पारेको छ ।
स्रोतका अनुसार दावासँग भण्डारीले पटक–पटक ‘दाइ’ सम्बोधन गरेर फोन सम्पर्क र सन्देश आदानप्रदान गर्ने गरेको देखिएको छ । दावा हाल सीआईबीको नियन्त्रणमा छन । हङकङबाट असार २९ मा गाडी र स्कुटरका ब्रेक सुमा लुकाएर ल्याएको ६१ केजी सुन प्रकरणमा दावा पक्राउ परेका थिए । त्यस्तै, गत पुस १० मा दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर ९ केजी सुन ल्याउने तस्करका अर्का नाइके दावाजिन वाङ भने फरार छन ।
वाङसहित सुन तस्करीको नेटवर्कमा देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पनि सीआईबीकै नियन्त्रणमा छन । दावा जोडिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसमेत अनुसन्धानको दायरामा छन । त्यसकै अनुसन्धान गर्ने क्रममा बिधका सञ्चालक भण्डारी पनि तानिएका हुन ।
प्रहरी स्रोतका अनुसार सुन तस्करसँग अस्वाभाविक सम्पर्क र संवाद र यही प्रकरणमा अनुसन्धानका क्रममा रहेका राहुल र दीपेशलगायत व्यक्तिसँगको भण्डारीको निकटता देखिएको छ ।
प्रहरी स्रोतका अनुसार दावासहित पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश, पूर्वसभामुख महराका छोरा राहुलसहितको सञ्जालसँग भण्डारीको कनेक्सन देखिएको छ । २०७३ असोज २१ मा नासुबाट सार्वजनिक सेवा प्रवेश गरेका भण्डारी ४ वर्षपछि २०७७ साउन १ मा राजीनामा दिएर सेवाबाट बाहिरिएका थिए ।
सेवा प्रवेशको केही वर्षमै अस्वाभाविक सम्पत्ति जोडेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध २०७९ असार ३ मा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा विशेषमा अझै विचाराधीन छ । पछिल्लो पटक सुन तस्करी प्रकरणमा जोडिएपछि स्रोत नखुलेको सम्पत्ति तस्करीबाट भित्रिएको सुनसँग त जोडिएको छैन भन्ने आशंका उब्जाएको अनुसन्धान स्रोतको भनाइ छ ।




















