काठमाडौं,२४ भदौ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार रहेको बताउनुभएकाे छ ।प्रधानमन्त्रीको चीन भ्रमणबारे राय सुझाव दिन प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित छलफलपछि उहाँले यस्तो कुरा बताउनुभएकाे हो ।

कोशी प्रदेशप्रति वितृष्णा बढाउने र कोशीमा मध्यावधि निर्वाचनमा जाने दुवै मनसाय एमालेको नभएकोले कांग्रेससंग सहकार्य गर्न तयार रहेको उहाँले  बताउनुभयाे । प्रदेशमा निषेधको राजनीति बन्द गर्नुपर्ने धारणा राख्दै उहाँले कांग्रेसलाई सरकार निर्माणमा मनाउने प्रयत्न गर्ने बताउनुभयाे ।  

‘त्यहाँ (कोशी) मा जुन ढंगको शक्ति सन्तुलनको अवस्था छ । निषेध गरेर  जाने खालको बाटोमा नजाउ । उहाँहरुले निषेध गर्न कोसिस गर्नुभयो, संविधान मिच्ने कामहरु भए त्यसको परिणाम आजपनि हामीले भोगिरहेका छौ । अबपनि त्यहि बाटोमा जाने हो भने यात प्रदेशप्रतिको वितृष्णा एकदमै बढेर जान्छ यात त्यसको समाधानका निम्ति नयाँ चुनावमा जानुपर्ने हुन्छ । दुवै कुरा अहिले हाम्रो प्राथमिकतामा छैनन्’  उहाँले भन्नुभयाे ।

उहाँले मध्यावधि निर्वाचनमा जाने रुचि एमालेको नभएको र प्रदेशप्रति नागरिकको वितृष्णा बढोस् भन्ने पनि नचाहेको स्पष्ट पार्दै प्रदेशमा सरकार निर्माणको लागि नेपाली कांग्रेसको साथ माग्ने बताउनुभयाे ।

उहाँले प्रदेशको हित र संविधानको रक्षार्थ कोशीमा एमालेलाई कांग्रेसले जिम्मेवार रुपमा साथ दिनुपर्ने धारणा व्यक्त गर्नुभयाे । 

‘मध्यावधिमा जाने पनि हाम्रो रुचि छैन र प्रदेशप्रति नै वितृष्णा बढोस भन्ने पनि हामी चाहँदैनौ । त्यसैले नेपाली कांग्रेसले एउटा जिम्मेवार भूमिका खेलोस् भन्ने हाम्रो प्रयास हुने छ । हामी उहाँहरुसँग सम्वादमा छौं’, ज्ञवालीले भन्नुभयाे ।