काठमाडौँ,२६ भदौ। हृदयाघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार भोलि गरिने भएको छ । उहाँका दुवै छोरा विदेशबाट आएपछि मात्रै अन्तिम संस्कार हुने बताइएको छ ।
दिवंगत नेम्वाङका जेठो छोरा मिङ्सो नेम्वाङ युकेबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने बताइएको छ ।
दुवै छोराहरू पुगेपछि अन्तिम संस्कार गरिने छ । त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ । केहीबेरमा पार्टी कार्यालयमा शव राखिने तयारी भइरहेको छ ।
नेम्वाङलाई गए राति हृदयाघातका कारण निधन भएको हो ।
शौचालयमा बेहोस अवस्थामा भेटिनु भएको थियो नेता सुवास नेम्वाङ
नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला पर्नु भएको थियो । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उहाँको मृत्यु भइसकेको थियो । नेता नेम्वाङ बालुवाटारस्थित निवासमा हुनुहुन्थ्यो । परिवारका सदस्यहरुका अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिनु भएको थियो ।
उहाँलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो । त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ । अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।


