काठमाडौँ,२६ भदौ। नेकपा एमालेका एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ सोमबार बिहानैदेखि ज्वरो आएको बुझिएको छ । उहाँको सचिवालयकाअनुसार ज्वरोपछि सोमबार दिनभर घरमै आराम गरेर बस्नु भएको थियो ।

नेता नेम्वाङ रुघाखोकी लागेर घरमा आराम गरिरहेको स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले जानकारी दिनु भएको छ । आइतबार धरान पुगेर फर्किएका नेम्वाङलाई सोमबार बिहानैदेखि ज्वरो आएको थियो । घरमै आएका डाक्टरले साँझ नेम्वाङको स्वास्थ्य परीक्षण गरेका थिए । त्यतिबेला उहाँलाई १०२ डिग्री ज्वरो आएको थियो ।

पारिवारिक स्रोतकाअनुसार डाक्टरले स्वास्थ्य परीक्षण गरेपछि अस्पताल जानुपर्दैन घरमै आराम गर्दा हुन्छ भनेका थिए । बेलुका सुप खाएर सुत्नु भएको उहाँ  राति करिब १ बजेतिर घरको शौचालयमा बेहोस भेटिएपछि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो । नेता नेम्वाङ बालुवाटारस्थित निवासमा हुनुहुन्थ्यो ।

उहाँलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो ।  त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ । अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।