काठमाडौं,२७ भदौ । नेकपा एमालेका उपाध्यक्ष, संविधान सभा अध्यक्ष, सभामुख एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालयबाट उहाँको निवास लगिएको छ ।
बुधबार दिउँसो एक बजेसम्म एमाले केन्द्रीय कार्यालय च्यासलमा राखिएको शव त्यस पछि उहाँको घरमा लगिएको हो । उहाँको शव आज बालुवाटारस्थित घरमा राखिने भएको छ । बिहीबार बिहान ११ बजे उहाँको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
मंगलबार बिहानीपख ह्रदयाघातका कारण निधन भएको नेम्वाङको पार्थिव शरीरलाई मंगलबार दिनभर एमाले केन्द्रीय कार्यालयमा राखिएको थियो । नेम्वाङका छोराहरू देश बाहिर रहेको कारण अन्तिम संस्कार गर्न ढिलाइ भएको हो ।
उहाँका दुवै छोरा नेपाल आइसक्नु भएको छ । कान्छा छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट मंलबार नै नेपाल फर्कनु भएको थियो । जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट बुधबार नेपाल आइपुग्नु भएको छ ।
स्वर्गीय नेम्वाङका दुई छोरा र दुई छोरी छन् । जेठा छोरा मिङ्सो परिवारसहित बेलायत बस्दै आउनुभएको छ । कान्छा छोरा सुहाङ भने भ्रमणको लागि अष्ट्रेलिया गएको बेला सुवासको निधन भएको थियो । बुबाको निधनको खबर पाएपछि उहाँ नेपाल फर्कनु भएको हो । नेम्वाङलाई हृदयाघात हुँदा घरमा श्रीमती र छोरीहरू हुनुहुन्थ्यो । जेठो छारा बाहेक सबै छोरा छोरी अविवाहित छन् ।
दुवै छोराले पार्टी कार्यालय पुगेर बुबा प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । परिवारका सबै सदस्य जम्मा भएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार नेम्वाङको पार्थिव शरीरलाई घरमा लगिएको हो ।


