काठमाडौं,२९ भदौ  । नेकपा एमालेले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । 

महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले पार्टीका उपाध्यक्ष समेत रहनुभएका नेम्वाङकाे स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेकाे हाे ।

'नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ' विषयमा सातै प्रदेशमा विचार गोष्ठी हुनेछ । गाेष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिने एमालेले जनाएकाे छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई अध्यक्ष केपी शर्मा ओलीले समबाेधन गर्नुहुने कार्यक्रम छ ।

अन्य ६ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्षहरू जानुहुने तय भएकाे छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेश प्रदेशको जनकपुरमा हुने विचार गोष्ठीमा प्रमुख वक्ताका रूपमा जानुहुनेछ ।

कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा बादल, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जानुहुनेछ ।

सबै प्रदेशमा हुने विचार गोष्ठीमा विभिन्न राजनीतिक दललाई समेत आमन्त्रण गर्ने निर्णय भएको कार्यालय सचिव डा.भीष्मनाथ अधिकारीले जानकारी दिनुभयाे ।