रामेछाप,३१ भदौ। नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछापले जिल्लामा रचनात्मक काम गर्न आफ्नै पार्टी नेकपा एमाले र अन्य पार्टी तथा विद्यार्थी संगठनलाई पनि पाठ सिकाएको छ ।
सो संगठनले नेतृत्व चयनको लागि आफ्नो १३ औँ जिल्ला अधिवेशन गर्दा राजनीतिक भाषणभुषणको कार्यक्रम मात्र गरेन, अखिल महोत्सव गरेर रचनात्मक काम गरेको छ । महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीले तयार गरेको शैक्षिक सामाग्री प्रदर्शनीमा राखिएको थियो । अनेरास्ववियुको कार्यक्रम राजनीतिक कार्यक्रम भन्दा पनि बढी शैक्षिक कार्यक्रम जस्तो देखिन्थ्यो ।
राजनीतिक कार्यक्रमसँगै विद्यार्थीको शैक्षिक प्रतिभा हेर्ने थालो पनि दुई दिनसम्म चलेको सम्मेलन स्थललाई बनाइएको थियो । ‘सम्मेलनसाथलाई विद्यार्थीको प्रतिभा प्रदर्शन गर्ने थलोको रूपमा स्थापित गर्न महोत्सव राखिएको हो, जिल्ला भरीका विद्यार्थी र विद्यालयको रचनात्मक क्रियाकलाप देखाउने थलो सम्मेलन स्थल बनाइएको हो, यसले अखिलले राजनीतिकसँगै शैक्षिक क्षेत्र सुधारका लागि काम गर्छ भन्ने सन्देश दिएको छ’, अनेरास्ववियुका नवनिर्वाचित अध्यक्ष पुष्कर भट्टराईले बताउनुभयो ।
दुई दिनसम्म चलेको अधिवेशन तथा महोत्सव शनिबार नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । अधिवेशनले पुष्कर भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
सामान्यतया सभा, समारोह, अधिवेशन, उत्सव जस्ता कार्यक्रम गरेपछि कार्यक्रम स्थल हेरि नसक्नु फोहोर हुन्छन् । आयोजक कार्यक्रम सक्ने बित्तिकै कार्यक्रम स्थलबाट हिँड्छन् । तुल, ब्यानर, तोरण, पानीका बोतल, कागज लगायत फलिएका फोहोरले कार्यक्रम स्थल अस्तव्यस्त हुन्छ । तर अनेरास्ववियुले त्यसरी छाडेन ।
कार्यक्रम सकिएको भोलिपल्ट बिहान भरी लगाएर अनेरास्ववियुका विद्यार्थीले कार्यक्रम आयोजना गरिएको तीनलाल पार्क सफाइ गरे । कार्यक्रम स्थलमा फालिएको सबै फोहोर संकलन गरेर व्यवस्थापन गरे । जसले फोहोर गर्यो त्यसैले सफा गर्नुपर्छ भन्ने पाठ सिकाउँदै अनेरास्ववियुले आफ्नो अधिवेशन सम्पन्न गरेको छ ।
अनेरास्ववियु रामेछापले गरेको रचनात्मक कार्यक्रमबाट पार्टीले समेत सिक्नु पर्ने नेकपा एमाले केन्द्रीय संगठन विभाग प्रमुख माधव ढुङ्गेल बताउनुहुन्छ । जिल्ला अधिवेशनसँगै गरिएको अखिल महोत्सव सहरका कुनै शैक्षिक महोत्सव भन्दा कम नभएको ढुङ्गेलले बताउनुभयो । यस्ता रचनात्मक काम सबैले सिक्नु पर्ने उहाँको भनाइ छ । सनराइज खबर




















