विराटचोक,१ असोज । नेकपा एमालेको कोशी प्रदेशको प्रथम अधिवेशनका लागि सुन्दरहरैँचाका युवाहरुले प्रतिनिधि छनौटका लागि सहमती गरेका छन् । सोमबार साझ युवाहरुको भेलाले सुन्दरहरैँचा ८ का युवा भोजबहादुर राई (उमेश) लाई प्रतिनिधि पठाउने सहमती गरेका हुन् ।
सुन्दरहरैँचामा युवाहरुको कोटाबाट १ जना प्रतिनिधि जानपाउने व्यवस्था रहेकोमा सोमबार पार्टीको निर्वाचन समितिमा ३ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए ।
उम्मेदवारी मनोनयन दर्ता गरेका राष्ट्रिय युवा संघ नेपालका कोशी प्रदेश कमिटी उपाध्यक्ष जयप्रकाश रायामाझि,अनेरास्ववियु केन्द्रीय निर्वाचन आयोगका सचिव रुद्र घिमिरे (मिलन) र उमेश राई बीच भएको छलफलबाट सहमति भएको राष्ट्रिय युवा संघ नेपालका सुन्दरहरैँचा नगर कमिटी अध्यक्ष भविन पाण्डेले बताए । रायामाझि र घिमिरेले निर्वाचन समितिबाट मंगलबार उम्मेदवारी फिर्ता लिने अध्यक्ष पाण्डेले जानकारी दिए ।
युवाहरु बीच सहमती गराउने छलफलमा नेकपा एमाले मोरङका सदस्य निरज ढकाल राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मनोज राई,मोरङ जिल्ला कमिटीका अध्यक्ष प्रविन घिमिरेले सहमती गराउ पहल गरेका थिए ।
सुन्दरहरैंचामा कुल पार्टी सदस्य संख्या २६ सय २८ रहेकोमा खुल्ला तर्फबाट १३ जना छनौट हुनुपर्नेमा २३ जना महिला तर्फबाट ६ जना छनौट हुनुपर्नेमा ११ जना र युवा महिला तर्फबाट १ जनाको कोटामा ३ जना जनाको उम्मेदवारी दर्ता यथावत नै रहेको छ ।
अधिवेशन यहि असोज १२ र १३ गते विराटनगरमा हुदैँछ । अधिवेशनका लागि प्रदेशभरी नै असोज ५ गते एकैदिन प्रतिनिधि छनौट हुनुपर्ने छ ।























