विराटनगर,७ असोज । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन यही असोज १२ र १३ गते विराटनगरमा हुँदैछ। प्रदेश राजधानी विराटनगरमा अधिवेशन आयोजना हुने सो दलले जनाएको छ। अधिवेशनको तयारीलाई तीव्रता दिइरहेको एमालेले सबै जिल्लाबाट प्रतिनिधि छान्ने काम करिब सम्पन्न गरिसकेको छ।

कोशी प्रदेशको अधिवेशनमा १ हजार ४७ जना प्रतिनिधि स्थानीय तह र सङ्गठनबाट छानिएर आउने व्यवस्था गरिएको छ। पार्टी सदस्य सङ्ख्याका आधारमा प्रतिनिधि सङ्ख्या निर्धारण गरेको एमाले कोशी प्रदेशका उप-सचिव शैलेश लामाले जानकारी दिनुभयो। जनवर्गीय सङ्गठन र भूगोलबाट निर्वाचित भएर आउने बाहेक प्रदेश कमिटीले ५० जना सदस्य मनोनित गर्ने व्यवस्था छ। सबै जिल्लाबाट प्रतिनिधि छानिइसकेपछि मात्र प्रदेशले मनोनीत गर्ने जनाइएको छ।

कोशी प्रदेश अधिवेशनमा ताप्लेजुङ जिल्लाबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १८१, तेह्रथुमबाट ४३, सङ्खुवासभाबाट ३९, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६ र मोरङबाट १७८ जना प्रतिनिधि सहभागी हुने व्यवस्था छ।

यसैगरी सोलुखुम्बुबाट १६, ओखलढुङ्गाबाट ४२, खोटाङबाट ५६ र उदयपुर जिल्लाबाट ३६ जना प्रतिनिधि आउने व्यवस्था गरिएको छ। विभिन्न जनसङ्गठनले ५६ जना प्रतिनिधि पठाउनेछन् । त्यसमध्ये मजदुर सङ्गठनका लागि ३२ जना प्रतिनिधिको कोटा दिएको एमालेले जनाएको छ।