- रविन बस्नेत
मोरङ,९ असोज । नेकपा (एमाले)को कोशी प्रदेश अधिवेशन सुरुहुन अब ३ दिनमात्र बाँकी रहेको छ । असोज १२ र १३ गते विराटनगर हुने अधिवेशनका प्रतिनिधि छनौट गर्ने कार्य सम्पन्न भै सकेको छ ।
अधिवेशन भव्य रुपमा सम्पन्न गर्न प्रदेश कमिटीको मूल व्यवस्थापन समिति र १४ ओटा विभिन्न उपसमितिहरु सक्रियरुपमा लागि परेको प्रदेश कमिटीका उपसचिव तथा प्रचार उपसमितिका संयोजक शैलेश लामाले जानकारी दिए ।
कोशी प्रदेशमा एमालेका १ लाख बढी कार्यकर्ता रहेका छन् । उनीहरूबाट करिब ११ सय प्रतिनिधि छनौट भएका छन् । प्रतिनिधिहरूले प्रदेशको कार्यसमिति चयन गर्नेछन् । निर्वाचित अध्यक्षलाई एमालेले पोलिटब्युरो सदस्य सरहको हैसियत दिने व्यवस्था छ । यसकारण पनि प्रदेश अध्यक्ष बन्न नेताहरू तीव्र कसरत गरिरहेका छन् ।
हालसम्म एमालेका केन्द्रीय सदस्य समेत रहेका विनोद ढकाल,प्रदेश कमिटीका प्रचार विभाग प्रमुख घनश्याम खतिवडा, कोशी प्रदेशका हालका अध्यक्ष तुलसी प्रसाद न्यौपाने र उपाध्यक्ष टिकाराम चेम्जोङले अध्यक्षको आकांक्षा राखेको एमालेका एक नेताले बताए ।
पार्टी अध्यक्षको चर्चामा रहेका विनोद ढकाल मोरङमा दुई पटक अध्यक्ष चलाएका व्यक्ति हुन् । उनी बलिया प्रतिस्पर्धी मानिन्छन् । अनेरास्ववियुका पुर्व उपाध्यक्ष समेत रकेका ढकाल हक्की र सहयोगी स्वभावका उनी एमालेभित्रका परिचित व्यक्ति पनि हुन् । विराटनगर स्थायी घर भएका ढकाल पार्टीभित्रका मात्रै नभई पार्टी बाहिरकालाई पनि सहयोग गर्ने स्वभावका छन् । प्रदेशको राजधानी विराटनगरमा रहेर एमालेलाई जोगाउन ढकालले खेलेको भूमिका प्रशंसनीय रहेको कतिपय बताउँछन् ।
नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी बन्ने परिस्थितिमा ढकाल नभएको भए एमाले मोरङमा ठुलो क्षति हुने विश्लेषण गरिन्छ । माधवकुमार नेपालका समर्थकहरू धेरै भएको जिल्ला मोरङमा लामो समयदेखि ओली पक्षमा रहेर ढकालले ‘पिलर’को काम गरेका थिए । ‘ढकाल थिएनन् भने मोरङ एमालेमा ठुलो विभाजन हुन्थ्यो, उनैको कारण रोकियो,’ एमालेका एक नेताले भने । यद्यपि ढकाललाई ओलीले हालसम्म खुलेर सहयोग नगरेको कतिपय बताउँछन् । पार्टीभित्र लोकप्रिय भए पनि ढकालले हालसम्म पटक पटक निर्वाचनमा लडे पनि विजयी हुन भने सकेका छैनन् ।
यस्तै उत्तरी मोरङ लेटाङ निवासी घनश्याम खतिवडा पनि पाका र पुराना एमाले नेता हुन् । खतिवडा नवौ राष्ट्रिय महाधिवेशनमा नेतृत्व परिवर्तनको नारा लागाएर केपी ओलीलाई अध्यक्ष बनाउन पुर्वबाट दरिलो साथदिने व्यक्तिमा पर्छन। खतिवडा प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा मोरङ १ बाट निर्वाचित सांसद पनिहुन । खतिवडा सांसद हुदाँ सदनमा देश र जनताको पक्षमा सबैभन्दा बढी आवाज उठाउने सांसदको रुपमा परिचित छन् । खतिवडा तत्कालिन लेटाङ गाबिसको अध्यक्ष हुदाँ उत्कृष्ट काम गरि पुरस्कृत समेत भएका थिए । स्पष्ट वक्ता र राम्रो भाषणकला कला भएका खतिवडाको भाषणले जनतालाई आकर्षण गर्ने गरेको उत्तरी मोरङका पुराना एक नेताले बताए । पार्टीमा लामो योगदान गरेका खतिवडाको सहकर्मीहरु पार्टीका माथिल्लो कमिटीमा प्राय सबै पुगेका छन् भने उनलाई पार्टीको उच्च जिम्मेवारीमा भने अन्यायनै भएको धेरै कार्यक्रतहरुको भनाई रहेको छ ।




















