विराटनगर,१२ असोज ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पहिलो पार्टी रहँदा रहँदै पनि प्रतिपक्षमा रहनुपरेको बताउनुभएको छ । 

नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनलाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै महासचिव पोखरेलले समानुपातिक मतमा नेकपा एमाले देशको पहिलो पार्टी भएको बताउनुभयो । देशका ७७ जिल्ला मध्ये ४४ जिल्लामा एमाले पहिलो पार्टी भएको पोखरेलले सुनाउनुभयो । ‘सात प्रदेश मध्ये ६ प्रदेशमा हामी समानुपातिक तर्फ पहिलो पार्टी भएका छौँ, तर पनि हाम्रो पार्टी यति बेला सत्तामा होइन प्रतिपक्षमा रहेको छ’, उहाँले भन्नुभयो । 

जनताको रोजाइको पहिलो पार्टीले सरकारको नेतृत्व गर्न नपाउने अहिलेको परिस्थिति रहेको उहाँले बताउनुभयो । जनताले रोजेकै पार्टीले सरकार बनाउन नपाउने स्थिति परिवर्तन गर्न नेकपा एमालेलाई एक्लै बहुमतको पार्टी बनाउन आवश्यक रहेको उहाँको धारणा छ । 

२०७४ निर्वाचनमा एमाले एक्लैले कोशीमा बहुमतको सरकार बनाएको स्मरण गराउँदै पोखरेलले अहिले एमालले बहुमत नल्याउँदा बारम्बार सरकार परिवर्तन भएको उहाँले बताउनुभयो । यस अर्थमा पनि एमालेलाई बलियो शक्ति बनाउन आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । 

अहिले मुलुकमा राजनीतिक अस्थिरता र अराजकताको चुनौती प्रमुख चुनौतीको रूपमा रहेको उहाँले बताउनुभयो । विकास र समृद्धिको लागि अस्थिरता र अराजकता चुनौतीको रूपमा रहेको उहाँको भनाइ छ । यसलाई परास्त गर्ने एक मात्र सामर्थ्य एमालेको भएको उहाँले दाबी गर्नुभयो । 

अहिले नेपाली संस्कृति माथि समेत आक्रमण भएको उहाँले बताउनुभयो । जातका नाममा, धर्मको नाममा समाजलाई विभाजन गर्ने प्रयत्न भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । अतिवादका नाममा राष्ट्रलाई कमजोर पार्ने र समाजलाई विभाजन गर्ने कामलाई प्रतिवाद गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो । 

एमालेलाई लक्षित गरी प्रहार गर्ने काम भइरहेको उहाँले बताउनुभयो । यो कुरा कोशी प्रदेशवासीले बुझ्न जरुरी रहेको उहाँको भनाइ छ । ‘जति बेला एमाले प्रदेश सरकारको नेतृत्वमा रहन्छ पहिचानवाद जाग्ने गर्दछ, जति बेला अरू कुनै पार्टीले नेतृत्व गर्ने गर्दछ पहिचानवादीहरू सुत्न पुग्दछन्’, उहाँले भन्नुभयो । 

पुराना पार्टी असफल भए, अब नयाँलाई अवसर दिनुपर्छ भनेर अहिले प्रचार भइरहेको बताउँदै उहाँले राजनीतिक दल कहिल्यै पुराना नहुने बताउनुभयो । राजनीतिक दलले अद्यावधिक हुँदै भविष्यको नेतृत्व गर्ने उहाँले प्रष्ट  पार्नुभयो ।