विराटनगर,१३ असोज । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट सचिव बन्नका लागि अहिलेसम्म दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारीले उम्मेदवारी दिएका छन् । शैलेश लामा कोशी प्रदेश कमिटीको उपसचिवको जिम्मेवारीमा थिए । 

राजकुमार भण्डारी सँग शैलेश लामा बलिया उम्मेदवार मानिन्छन । अनेरास्ववियुको पुर्व उपाध्यक्ष समेत भैसकेका लामा युवा र जनजाती भएको हुँदा कमिटीलाई समावेशी बनाउनका लागि जित्ने माहौल राम्रो बनेको अधिवेशनका धेरै जसो प्रतिनिधिहरु बताएका छन् । भण्डारी गत मंसिरमा भएको निर्वाचनमा पाँचथरबाट प्रदेश सभाको उमेदवार थिए ।

त्यसैगरी यसअघि अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङका घनश्याम खतिवडाको उम्मेदवारी परेको छ ।अन्य पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरिरहेका छन् ।उम्मेदवारी दर्ता भइसकेपछि आजै उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।

मतदान भने भोलि बिहान ११ बजेबाट हुने छ ।अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।