काठमाडौं,१३ असोज।नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरको सिङ्गो जिल्ला कमिटीले नै सो पार्टी परित्याग गरेको छ । 

सो पार्टीका जिल्ला अध्यक्षसहितका नेताले पार्टी परित्याग गर्नुभएको छ । जिल्ला पार्टीका चार पदाधिकारी, दुई प्रदेश सदस्य सहितका नेताहरूले पार्टीको साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गर्नुभएको छ ।  

पार्टी केन्द्रीय कमिटी र प्रदेश कमिटीमा गराएको ध्यानाकर्षणको समेत बेवास्ता गरेको कारण पार्टीमा रहिरहनु उचित नरहेकोले पार्टी परित्याग गरेको उहाँहरूले जारी गर्नुभएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । ध्यानाकर्षण उपर कुनै सुनुवाइ, छलफल र निर्णय नगरेको उहाँहरूको गुनासो छ । 

पार्टी परित्याग गर्नेमा पार्टीका जिल्ला अध्यक्ष झविलाल राना, उपाध्यक्ष प्रेमनारायण पाण्डे, उपसचिव हुमकान्त पराजुली र गोविन्द सुनार हुनुहुन्छ । त्यस्तै पार्टीको गण्डकी प्रदेश कमिटी सदस्य श्यामप्रसाद भुर्तेल, खगराज कँडेल, रामप्रसाद पाण्डे लगायतले पनि पार्टी परित्याग गर्नुभएको छ ।  

पार्टी परित्याग गर्नेमा जिल्ला कमिटी सदस्यहरू, हुप्सेकोट गाउँपालिका कमिटी अध्यक्ष सहित ३१ सदस्सीय गाउँ कमिटी, विभिन्न पालिका कमिटीका पदाधिकारी तथा सदस्य, युवा संघका पदाधिकारी तथा सदस्यहरू लगायत हुनुहुन्छ ।